पहिरोको सास्ती खेप्दै भूकम्प पीडित

निर्मल बस्नेत-
विनाशकारी भूकम्पको महाविपत्ती झेलेका भूकम्प पीडितलाई फेरी अर्को फेरी अर्को विपत्ती आईलागेको छ ।
भूकम्पले ध्वजा फाटेको जमिन पहिरो बनेर झरेपछि बाह्रबिसे नगरपालिका–७ को बिम्बु गाउँ नै विस्थापित हुने अवस्था भएको छ । पहिरोले गाउँ ध्वस्त हुँदा त्याहाँ बस्दै आएका १९ घर परिरवारका ८० घर विस्थापित हुने अवस्था आएको हो ।
भूकम्पले ध्वस्त गाउँका घर बनाउन पीडितले बर्षदिन देखि काटेर संकलन गरेका काठपात समेत पहिरोले पुरिएको स्थानीय बिलबहादुर लामाले जानकारी दिनुभयो । उनका अनुसार बाह्रबिसेबाट चार घण्टामा पुग्न सकिने विकट लेकाली गाउँ बिम्बुमा अहिले कोही छैनन् । गाउँमै पहिरोमा परेपछि विस्थापित स्थानीय एक घण्टाको दुरीमा रेहेको लेकालीबारी टारमा गएर बसेको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प पछि बनाईएका जस्तापाता टहरा पहिरोले लगेपछि उनीहरु अहिले सामुहिक रुपमा त्रिपालमुनी बसीरहेका छन् ।  ‘जस्ता पाताको टहरो बनाउन केही दिन लाग्ने भएकोले हामी सामुहिक रुपमा बसीरहेका छौं,’ लामाले भन्नुभयो ।
 भूकम्प पीडितले अनुदानको पहिलो किस्ताबाट डिभिसी गरेका केही घर पनि पहिरोले पुरेको उहाँले बताउनुभयो । गाउँको नजिकै पानीको मुल फुटेर जमिन हल्लिएको थाहा पाएपछि बिम्बु बासी रातको समयमा भागेका थिए । सुरुमा पानीको मुल फुटेर बग्न थालेको सो गाउँ दुईदिन पछि पुरै पहिरोमा परिणत भएको पीडित स्थानीयले बताएका छन् । पीडितहरुका अनुसार वस्तुभाउ सबै लेकाली गोठमा क्षति हुन पाएन । त्यसैगरी १९ घरकै सबै अन्न पहिरोले पुरेको छ भने टार बारीमा लगाएको आलु मकै खाएर विस्थापित बाँचिरहेका छन् ।
 पहिरोले विस्थापित परिवाराका लागी कसैले सहयोग नगरेको लामाले बताउनुभयो । घटना पछि बिम्बु पुगेको नेपाल प्रहरीले बिस्थापितको नाम टिपेर फर्केको थियो । दिनहँु वर्षाद भईरहेकोले बाह्रविसे बजारमा खरिद गएिका टहरो निर्माणका सामग्री गाउँ पु¥याउन सकिएको छैन् । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेका संग सम्पर्क गर्दा उक्त क्षेत्रमा पहिरोको जोखिम रहेपनि ठुलो जनझनको क्षति भने नरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका ईन्चार्ज पञ्चकुमार बाखुले लोकप्रियलाई बताउनुभयो ।
यसैबीच भोटेकोसी गाउँपालिकाको मार्मिङ ह्याङ्लेमा छ्यादी खोलाको बाढीले हाइड्रो पावरको पाइप फुट्दा पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाले बढेको छ्यादी खोलाको भेलले लाफिङ बुद्व हाइड्रो पावर कम्पनीको कोलेस्टेट पाइप जताततै फुटाएपछि भरिएको पानीले ह्याङ्ले बस्ती नै तहसनहस बनाएको हो । रातको दुई बजे आएको बाढीले घर बगाउँदा झ्यालबाट भागेकी निमा तामाङका अनुसार ह्याङ्लेका सुब्बा तामाङ, ग्याल्मी तामाङ, निमा तामाङ लगायत पाँच परिवारको घर बगाएको बताउनुभयो ।
उहाँका अनुसार हाइड्रो पावर कम्पनीको पाइप फुटेपछि भरिएको भलले वरीपरीका जमिन भास्सिदै आएको छ । शनिवार राति आयोजनाको पाइप फुटेपछि भरिएको पानीले छेउछाउका  पाँच टहरा बगाएको थियो । ज्यान बचाएपछि स्थानीयले रातारात नै प्रहरीलाई खबर गरेका थिए । खोलाको बहावले झण्डै तीन लाख बराबरको पशुपक्षी,चौपाय र पसल बगाएको छ ।
दश परिवार बसिरहेको ह्याङ्लेका बासिन्दा त्रासमा परेको स्थानीय शिक्षक भक्तलाल लामाले बताउनुभयो ।  वरपरका स्थानीयको भएको क्षतिअनुसार हाइड्रो कम्पनीले व्यर्होनुपर्ने सहमति गरेको र विस्थापित परिवारलाई स्थान्तरण गर्ने प्रयासमा लागेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

,