मोहीको सिफारिसमा वडा अध्यक्षको अग्रसरता

पातलि थामी
नेपाल सरकारद्धारा तोकिएको मोहि बाँडफाँटको समय सीमा सकिनै लाग्दा  हेलम्बु गाउँपालिका वडा नं ७ का अध्यक्षले शिविर राखेरै मोहीको बाँडफाँड गर्नुभएको छ ।
प्रमाणको आधारमा वास्तविक मोही नछुटुन भनेर वडा अध्यक्ष खेतनाथ घिमिरेले आफैले भेला बोलाएर मोहीहरु नछुटुन भन्नको निमित्त यसरी मोही बाँडफाँड गरेकोमा सर्वत्र प्रसंसा गर्न थालिएको छ ।  नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी २०७४ भदौ ६ गते सम्म मोहि बाँडफाँटको लागि मालपोत कार्यालयमा निवेदन दिने मिति तोकेको छ ।
भदौ ६ आउन ३० दिन बाँकी रहँदा यसरी वडा अध्यक्ष आफैले मोहीको व्यवस्थापन गर्न लागि पर्नुभएको कारण भूमिअधिकार मञ्चले उक्त कार्यको धन्यवाद समेत व्यक्त गरेको छ ।
उक्त वडामा ५५ घर परिवार दर्तावाल मोहि किसानहरु रहेको जिल्ला भूमिअधिकार मञ्चको जिल्ला संयोजक माधव ढकालले बताउनुभएको छ । किसानहरुले मोहि बाँडफाँटको लागी भूमि अधिकार मञ्चको सहयोगमा निवेदन पेश गर्न  ५१ घर परिवारको निवेदन तयार पारेको थिए । तर वडा अध्यक्षले वास्तविक किसानहरु नछुटुन भनेर सबैको भेला गराई मोहीको सिफारिस गर्नुभएको हो ।
नव निर्वाचित  वडा अध्यक्षले आफू विभिन्न कार्य व्यस्तताको कारणले गर्दा  व्यक्ति व्यक्ति मोही किसानको पहिचान गर्न केही समस्या हुने भएकोले सामुहिक रुपमा सबैलाई भेला गराएर मोहीको पहिचान गरि सिफारिस दिएको बताउनुभयो ।
भूमि अधिकार मञ्चको अनुरोधमा वडा अध्यक्षकै पहलमा मोही किसानको भेला  शिविरको आयोजना भएको थियो । साविकको इचोक गाविस वडा नं ६ वडा कार्यालयमा  मोहि बाँडफाँटको सिफारिस दिनको लागी शिविरको आयोजना गरिएको थियो ।
 यस शिविरबाट ५१ जना मोहि परिवारले सिफारिस लिएका थिए । वडा अध्यक्ष   खेतनाथले जस्तै अरु वडा अध्यक्षहरुले पनि आ–आफ्नो वडामा रहेका मोही किसानहरुको पहिचान गरी मोही दर्ताको लागि सिफारिस दिन र किसानहरुलाई कृषि उत्पादनकत्व क्षेत्रमा प्रोत्साहन दिनको लागि नव निर्वाचित अध्यक्षहरुले पनि सिफारिस गरिदिए जिल्लाका १ हजार ९ सय ९५ दर्तावाल मोहि किसान अधिकार पाउनुको साथै कृषि पेशाको विकसित हूँदै कृषिमा आत्मानिर्भरता रहन कृषकहरुलाई प्रात्साहन मिल्ने देखिन्छ ।


,