दैवी प्रकोपसँग जुध्दै सिन्धुपाल्चोक तातोपानी

नेत्रबहादुर बस्नेत-
सिन्धुपाल्चोकलाई कुनै न कुनै किसिमले दैवी प्रकोप परिरहेको र यस्ता प्रकोपसँग जिल्लाबासीले जुधिरहन परेको प्रति आफू चिन्तित र दुखित रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् माननीय मोहन बहादुर बस्नेतले बताउनु भएको छ ।
उहाँले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा आएको बाढीको कारण भएको क्षति, जुरे पहिरोको कारण भएको क्षतिको घाउ सन्चो हुन नपाउँदै आईतबार राती सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीको लार्चा पुलमा पहिरो आएर भत्किए पछि १ सय ५० भन्दा बढी घर पूर्ण जोखिममा परेको र २ सय भन्दा बढी मानिसहरु डर र त्रासले अलपत्रमा परेका कारण छिटो भन्दा छिटो उक्त स्थानमा वैकल्पिक खोजी गरि झोलुङ्गे पुलको निर्माण गरेर भएपनि तत्काल त्यहाँ रहेका मानिसहरुलाई आवत जावतमा सहज पु¥याउन सरकारी तथा गैर सरकारी संस्थाहरुलाई अनुरोध गर्नुभएको छ ।
माननीय अमृतकुमार बोहराले नेपाल र चीनको ऐतिहासिक नाका सञ्चालनमा विभिन्न प्रकारबाट बाधा अड्चन भोगिरहेको सिन्धुपाल्चोकमा अहिले फेरी लार्चाको पुल भत्किएपछि गम्भिर सङ्कटमा परेका नागरिकलाई खाद्यान्न, औषधि उपलब्ध गराउनुपर्ने, त्यहाँका नागरिकहरु सँधै भयवह स्थितिमा बस्नुपर्ने भएकोले भौगोलिक अध्ययन गरी बस्न हुने नहुने ठाउँको पचिान गरी बस्न हुने ठाउँमा बस्ती बसाउने व्यवस्था गर्नुपर्ने माग गर्दै सरकारले एक कानले सुन्ने अर्को कानले उडाउने प्रवृत्ति नदोहोरिओस् भन्दै तत्काल समस्याको समाधान गर्न अनुरोध गर्नुभयो ।
माननीय रमेश कुमार लामाले सिन्धुपाल्चोकलाई सरकारले विशेष क्षेत्रको रुपमा हेरेर समस्याको स्थायी समाधान गर्न पर्ने बताउनुभयो । सिन्धुपाल्चोक जिल्लाको लार्चामा गएको भिषण पहिरोबाट समस्यामा परेको नागरिकहरुको हिजोसम्म पनि उद्धार गर्न सकेको छैन् । पाङसेर्पु भिडबाट पहिरो खसेर भत्किएको तातोपानी र मार्मिङसँगै जोडिने लार्चा पुल भत्किएको कारण अलपत्र परेका नागरिकहरुको उद्धारको लागि तत्काल फलामे साँघु हाल्ने काम सुरु हुन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर शिलवालले सबै भन्दा छिटो मानवीय उद्धारको लागि आवत जावत गर्नको निमित्त फलामको साँघु हाल्न लागेको बताउनुभयो । सडक विभाग र जल उत्पन्न विभागको सहयोगमा निर्मार्ण हुन लागेको उक्त साँघु मौसमले साथ दिएमा जिल्ला स्थित सुरक्षा निकायहरुले २ दिन भित्रै स्थानीयलाई आवत जावत गराउन सकिने बताउनु भएको छ ।
तातोपानी मेला भर्न गएका भन्सार अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मी लगायत स्थानीय नागरिक सहित करिब २ सय भन्दा बढी नागरिकहरु अलपत्र परेको बताइएको छ ।
 भोटेकोशी स्थितको लार्चा पुल भत्किए पछि त्यहाँ उत्पन्न समस्यालाई समाधान गर्न प्रजिअ शिलवालले तत्काल जिल्लाका सबै निकायहरुलाई अनुरोध गरिसक्नु भएको छ । नियमित रुपले भइरहेको वर्षातको कारण पुल भत्किएपछि उक्त स्थानमा खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्रीहरुको  ढुवानीमा समस्या उत्पन्न भएको छ ।
यस अघि सांसदमा माननीय मोहन बहादुर बस्नेत र अमृत कुमार बोहराले संसद अधिवेशनमा नै विशेष समय लिएर लार्चामा परेको समस्याको बारेमा सरकारको ध्यानाकार्षण गराएपछि गृहमन्त्री जनार्दन शर्माले तत्काल सरकारले बेलिब्रिज बनाएर आवत जावतलाई सहज बनाउन निर्देशन दिँदै तत्काल घटना स्थलमा खाद्यान्न तथ औषधि उपचार लगायत आवश्यक सामग्री पु¥याउन निर्देशन दिनुभएको थियो ।
यसैगरी बेलिब्रिज निर्माणको लागि पहल गरेको र बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पत्राचारसमेत गरिसकेको बताएपनि बेलिब्रिज निर्माणमा झण्डै महिना दिन जस्तो समय लाग्ने भएकोले फलामे साँघु निर्माण गरेर भएपनि त्यहाँका बासिन्दालाई छिट्टै आवत जावत गराउन प्रयास गरिएको हो ।
सिन्धुपाल्चोकको तातोपानी लार्चामा २०५३ सालमा पनि भैरवकुण्डी खोलामा आएको बाढीको कारण ५४ जनाको ज्यान गएको थियो । २०५३ साल साउनमा भएको उक्त घटना पश्चात २०७१ साउन महिनामै जुरे पहिरोबाट १ सय ४५ जनाको ज्यान समेतथ गई ठूलो संख्यामा नागरिकहरु विस्थापित भएका थिए भने २०७३ सालमा भोटेकोशी बाढीले ठूलो त्रास निम्त्याएको थियो ।
त्यस्तै २०७४ साउन महिनाको सुरुमा नै लार्चा पुल भत्किएपछि अर्को ठूलो सङ्कट भोगेको यस सिन्धुपाल्चोक जिल्लाको तातोपानी क्षेत्रमा सरकारले विशेष योजना ल्याउनुपर्ने जरुरी रहको आम नागरिकहरुको भनाई रहेको छ ।



,