बस्नेत सञ्चारमन्त्री बनेपछि सिन्धु कांग्रेसमा उमंग

शेरबहादर देउवाको नेतृत्वमा रहेको सरकारले पूर्णता पाएपछि सिन्धुपाल्चोकले सञ्चारमन्त्रीको सौभाग्य पाएको छ ।
बुधबार भएको मन्त्रिपरिषदको विस्तारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका सांसद मा्ेहन बहादुर बस्नेत नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री हुनुभएको छ ।
नेपाली कांग्रेसमा एउटा छुट्टै पहिचान बनाएका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद युवा नेता तथा तेह्रौ महाधिवेशनबाट अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी हुनु भएका मोहन बहादुर बस्नेत सञ्चारमन्त्री भएपछि जिल्लाबासी कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् ।
जिल्लामा विकासप्रेमी नेताका रुपमा चिनिएका सांसद बस्नेतले जिल्लाको शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई अतुलनीय रुपमा हेर्ने गरिएको छ । राजधानीबाट भौगोलिक रुपले नजिकै भएपनि विकासका दृष्टिले धेरै नै पछाडि रहेको सिन्धुपाल्चोक जिल्लामा बस्नेतले २०४० को दशकदेखि नै शारदा मावि बाह्रबिसे र समग्र जिल्लाबाट टेस्ट परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई आफ्नो एकल प्रयासमा काठमाडौं ल्याएर कोचिङ कक्षा सञ्चालन गरेर विद्यार्थीको मनमा शिक्षासेवीको दर्जा प्राप्त गर्नुभएको थियो । यसबाट आफ्नै खर्चमा काठमाडौं आइ अध्ययन गर्न आर्थिक हैसियत नभएका विद्यार्थीहरुलाई धेरै नै राहत भएको थियो । यो कार्यलाई सांसद बस्नेतले २०६० सालसम्म पनि निरन्तरता दिनुभएको थियो । यद्यपि पछिल्लो समयमा टेस्ट परीक्षा पास भएका विद्यार्थीहरुलाई बाह्रबिसेमा नै निःशुल्क कोचिङको व्यवस्था गर्नुभएको थियो । यसबीचमा सांसद बस्नेतले स्कुल बनाउने, क्याम्पस स्थापना गर्ने जस्ता कार्यलाई पनि जिल्लावासीले मनमा सम्झना गरिरहेका छन् ।
क्याम्पसमा अध्ययन गर्दा नेपाली विद्यार्थी आन्दोलनमा सक्रिय रहेका बस्नेत विश्वविद्यालयको अध्ययन पुरा गरे पश्तचात राजनीतिमा नै पूर्ण रुपमा समर्पित हुनुभएको  छ । चारपटक नेपाली कांग्रेसका जिल्ला सभापति हुनुभएका बस्नेत हक्की स्वभावका नेताका रुपमा चिन्ने गर्दछन् ।
उहाँको यही खरो स्वभावलाई नै कतिपय विपक्षीहरुले विरोध गर्ने मसला बनाएपनि विकासका काममा ढुलमुले चरित्र देखाउँदा सोचेजस्तो उपलब्धि हासिल नहुने भएकाले कांग्रेसका आम कार्यकर्ता यसलाई सांसद बस्नेतको खुवीको रुपमा चित्रण गर्छन् ।
२०५६ सालको संसदीय निर्वाचनमा विजयी हुनु भएका उहाँ तत्कालीन देउवा नेतृत्वको मन्त्रिपरिषदमा नै स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो । उहाँले त्यस समयमा नै स्वास्थ्यको क्षेत्रमा सुरु गरेको सुधारको प्रयासलाई अझै पनि स्मरण गरिन्छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसमा पार्टी विभाजन हुँदा उहाँ देउवा सभापति रहेको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति हुनुहुन्थ्यो ।
पछि पार्टी एकीकरण भएपश्चात पनि उहाँ नै जिल्ला सभापतिमा पर्नु भएको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले बस्नेतले पार्टी संगठन र सञ्चालनमा देखाएको कार्यक्षमताबाट प्रभावित भएर नै एकीकरणपछि पनि उहाँलाई नै सभापति बनाउनु भएको कांग्रेसका पुराना कार्यकर्ता बताउछन् ।
पहिलो संविधानसभाको निर्वाचनमा पराजय भए पनि बस्नेतले तत्कालीन समयमा नेकपा माओवादीले गरेको ज्यादतीलाई खुल्लमखुल्ला चुनौती दिनुभएको थियो । आम सर्वसाधारण र झन् त्यसमाथि पनि आफ्नो मुख्य वर्गशत्रुको रुपमा चित्रण गरेको नेपाली कांग्रेसका कार्यकर्तालाई नेकपा माओवादीले सुराकीको रुपमा हत्या गर्दा समेत बस्नेतले त्यसको कडा प्रतिवाद गर्दै आफ्ना कार्यकर्ताको संरक्षण गरेकाले पनि उहाँलाई कांग्रेसका कार्यकर्ताले अभिभावको रुपमा नै चिन्ने गरेका छन् ।
माओवादी र सरकारबीच युद्धविराम भएर बाह्र बुँदे सहमति भएपश्चात माओवादीले जनसेनामा भएका आफ्ना कार्यकर्तालाई समेटेर वाइसिएल नाम गरेको अर्धसैनिक जत्था गठन गरेर निहत्था नेपाली जनता र मुख्य गरी नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई निशाना बनाउन थालेपछि उनले तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालासँग समन्वय गरेर वाइसिएललाई टक्कर दिन तरुण दस्ता गठनको सम्पूर्ण तयारी पुरा गर्नुभएको थियो ।
यसका अलवा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, जलविद्युत, ब्यापार र भौतिक पुर्वाधारको विकासमा पनि बस्नेतले केही गरेरै देखाएको कांग्रेसका कार्यकर्ता बताउँछन् । तातोपानी नाकालाई व्यवस्थित गर्ने काममा पनि सांसद बस्नेतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ०७२ साल वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त र तहसनहस भएको सिन्धुपाल्चोक जिल्लालाई फेरि पूर्ववत अवस्थामा फर्काउने काममा नतिजा देखिने गरी लाग्नुभएका बस्नेतले जिल्लामा रहेका सरकारी निकायहरुले गरेको ढिलासुस्तीप्रति पनि कडा आवाज उठाउनुभएको कुरा त सबैलाई थाहा नै भएको विषय हो ।
सांसद बस्नेत मन्त्री हुने पक्का भएसँगै जुरे पहिरो, विनासकारी भूकम्प, भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको ठुलो क्षति, बन्द रहेको नेपाल र चीनबीचको पहिलो ब्यापारिक तातोपानी नाका खुलाउनुपर्ने दायित्व दुई दिनअघिमात्र पहिरो खसेर लार्चाको पक्की पुल बगाएपछि तातोपानी गाउँपालिकाको माथिल्लो भेगसँग टुटेको सम्बन्ध आदि विषयमा उहाँले संसदमा उठान गरेको दमदार प्रस्तुतिले पनि सांसद मोहन बस्नेत सञ्चारमन्त्री भएपछि केही गरेरै देखाउनुहुन्छ भन्ने आशा जिल्लाका नेपाली कांग्रेसका कार्यकता मात्र होइनन् आम जनता पनि आशावादी देखिएका छन् ।


,