बढ्दै गयो अनुदान दुरुपयोग

सरकारले उपलब्ध गराएको राहात तथा सहयोग अनुदानहरु दुरुपयोग हुने क्रम झन तीव्र रुपले बढेको छ ।
जिल्ला विकासका लागि छुट्याइएको संसद् विकास कोषका योजनाहरु, जिल्ला तथा गाउँ परिषदबाट पारित योजनाहरुमा विनियोजन गरिएका कार्ययोजनाका रकमहरुको दुरुपयोग हुने क्रम बढेर गएको छ । स्थानीय तहको निवर्चान अगाडी विनियोजन भएका रकमहरु समेतलाई उपभोत्ता समिति मार्फत काम सम्पन्न भएका योजनाको भुक्तानी दिन पर्नेमा केही वडा अध्यक्षहरुले जबरजस्ती आफै पैसा लग्ने गरेको र एउटै योजनामा वर्षैपिच्छे रकम विनियोजन गर्ने तर काम नगरी भुक्तानी दिन दबाब गर्न थालिएको कारण पनि अनुदानको रकमको दुरुपयोग भएको छ ।
नेपालको संविधान अनुसार भएको निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रत्यक्ष रुपमा आर्थिकको कारबार गर्ने अधिकार दिएको देखिदैन् । निर्वाचित वडा प्रमुख तथा गाउँ÷नगर प्रमुख, उपप्रमुखले संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहको निर्देशिका भित्र रहेर काम गर्न पर्ने हुन्छ ।
तर त्यस निर्देशिकालाई समेत लत्याएर सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको चौतारा–साँगाचोकगढी नगरपालिकाका केही वडाहरुमा बजेट योजना तर्जुमा गर्दा सदरमुकाम स्थित होटलमा बसेर बजेटको योजना तर्जुमा गरी नगर परिषद्मा प्रस्तुत गरिएको र विगत सर्वदलिय संयन्त्रबाट विनियोजित रकमहरुलाई समेत म वडा अध्यक्ष हुँ भनी जबरजस्ती विनियोजित रकमहरु सचिवलाई चेक काट्न लगाई रकम आफु खुसी लिएर हिँड्ने गरेको पाइएको छ ।
यस्ता किसिमका प्रवृत्तिले सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको महसुस गर्नुको साटो गलत सन्देशको प्रवाह हुने देखिने सरोकारवालाहरुले बताउन थालेका छन् । यस सम्बन्धि संघियताको नाममा नागरिकले झन समस्या पाउँदा फाईदा कसलाई हुने, यसतर्फ आम नागरिक सचेत रहनुपर्ने आवश्यकता भईसकेको समेत सरोकारवालाहरुले बताएका छन् ।
अर्को तर्फ भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सी समेतमा दुरुपयोग हुन थालेको छ । सरकारले वास्तवमा भूकम्प पीडितहरुलाई स्वरोजगारको निमित्त आफैले ट्याक्सी सचालन गरेर जीविकोपार्जन गर्नलाई दिएको सुविधा विक्रि हुन थालेको समाचार बाहिर आउन थालेको छ । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।
अहिले ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ । तर, ट्याक्सीको नम्बर प्लेट किनबेच सुरु भएको छ । काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्प पीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्च गरेर ट्याक्सी नंम्बर लिने गरिएको समाचार बाहिर आइरहँदा भूकम्प पीडितले पाएको ट्याक्सी नम्बर मध्ये ८० वटा दर्ता हुँदा ५० वटा ट्याक्सी भूकम्प पीडितले अर्कैको नाममा दर्ता भएको समाचार बाहिर आएको छ ।


,