जिल्लामा निकासा बिकास बजेट फ्रिज

राम केसी-
सिन्धुपाल्चोक जिल्लामा आर्थिक बर्ष ०७३÷७४ को लागि जिल्ला स्थित सरकारी कार्यालयहरुमा निकासा भएको ९८ करोड १९ लाख ७९ हजार बिकास बजेट मध्य २२ करोड २ लाख ९८ हजार ६५५। रुपैया फ्रिज भएको छ ।
समयमा अख्तियारी नआउनु, कार्यक्रम स्वीकृत हुन ढिलाइ हुनु र सम्झौता गरेर समयमा काम नहुने गरेकोले पनि निकासा भएको ठुलो मात्राको बिकास बजेट फ्रिज भएको प्रमुख कोष तथा लेखा नियन्त्रक लक्ष्मी प्रसाद निरौलाले बताउनु भयो ।
गत बर्ष असार ३० गते सम्म पनि अख्तियारी आएको प्रसंग उल्लेख गर्दै चालु आर्थिक बर्षको लागि बिहिबार जिल्लाको १२ वटै स्थानीय तहको लागि प्रथम चौमासिक निकासा पठाइएकोले यो बर्ष निकासा पठाएको बिकास बजेट फ्रिज नहुने प्रमुख कोष नियन्त्रक निरौलाले आशा ब्यक्त गर्नु भयो ।
गत बर्ष सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालयमा निकासा भएको ९ करोड ७१ लाख ८५ हजार मध्य ४ करोड ७९ लाख ९७ हजार फ्रिज भएको छ । त्यसपछि जिल्ला अदालतमा निकासा भएको १ करोड १० लाख ६२ हजार मध्य ९९ लाख ५६ हजार फ्रिज भएको छ ।
 त्यसैगरी लामोसाघु–तामाकोशी जिरी सडकको निकासा भएको ४२ करोड मध्य १२ करोड ५८ लाख, सहरी बिकास तथा भबन डिभिजन कार्यालयमा निकासा भएको ६ करोड मध्य २ करोड र सोही कार्यालयमा पुनःनिर्माण तर्फ निकासा भएको ७ करोड १२ लाख मध्य ८४ लाख फ्रिज भएको छ ।
त्यस्तै जिल्ला पशुसेवा कार्यालयमा निकासा भएको ८ लाख ८० हजार मध्य ४ लाख फ्रिज भएको छ । यो रकम झन्डै ५० प्रतिशत हो । तर जिल्ला कृषि बिकास कार्यालयमा भने निकासा भएको ९७ लाख ८५ हजार मध्य सबैभन्दा घटि ६५५ रुपैया मात्र फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

,