बेलिब्रिज निर्माण गर्न सापकोटाको माग

नेकपा माओवादी केन्द्रका सांसद पूर्वमन्त्री माननीय अग्नि सापकोटाले सिन्धुपाल्चोकको  लार्चाको पुल भत्किएपछि स्थानीय जनता प्रभावित भएको भन्दै तत्काल बेलिब्रिज निर्माण गर्न माग गर्नुभएको छ ।
उहाँले तातोपानी नाका खुलाउन भइरहेको प्रगति र अरनिको राजमार्ग बिस्तार गर्न चीन सरकारले दिएको १४ अर्ब ९४ करोड रुपैयाँ बजेटको स्थितिबारे जानकारी गराउन र उक्त कार्यको प्रगति बारे प्रष्ट पार्न समेत सरकारसँग माग गर्नुभएको छ ।

हिजोको संसद बैठकमा विशेष समयमा बोल्दै माननीय सापकोटाले लार्चा पुल भत्केर सम्बन्ध टुटेको एक हप्ता भइसक्दा पनि बेलिब्रिज नराखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सापकोटाले चिनियाँ सरकार पनि बेलिब्रिज राख्न तयार छ । सेनासँग पनि बेलिब्रिज मौजुद छ । आज एक हप्ताभन्दा पनि बेसी भइसकेको छ किन सरकारले बेलिब्रिज जडान गर्न ढिलाइ गरिरहेको छ ? भनि सरकारलाई प्रष्ट पार्न समेत अनुरोध गर्नुभयो र उहाँले तत्काल बेलिब्रिज जडान गरेर ति महाविपत्तीमा परेका तातोपानी क्षेत्रका जनतालाई उद्धार र राहत दिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गत साउन ८ गते फुल्पिंकट्टी र तातोपानी जोड्ने लार्चाको पुल पहिरोले भत्किएको कारण त्यहाँ २५ हजार भन्दा बढी जनता प्रभावित भएको समेत प्रष्ट पार्दै पुल भत्किएपछि स्टीलको पोलबाट अड्याएर फड्के हालि राखेको तुइन पनि  जोखिममा रहेको उहाँले बताउनुभयो । सापकोटाले बिरामी वृद्धबृद्धा, सुत्केरीहरुको त झन् धेरै जोखिम छ, पार गर्न सकिँदैन । त्यसकारण म सम्माननीय सभामुख महोदय मार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहान्छु भन्नुभयो ।
माननीय सापकोटाले भूकम्पपछि बन्द भएको तातोपानी नाका खुलाउन भइरहेको पहलबारे पनि सरकारको जवाफ माग्दै २० अर्बभन्दा बढीको कारोबार हुने र ५ अर्बभन्दा बढी राजश्व संकलन हुने तातोपानी नाका २७ महिनादेखि बन्द भएकोमा उक्त नाका खुलाउन  सरकारले के गरिरहेको छ भनि प्रश्न गर्नुभयो ।
तातोपानीसम्म पुग्ने अरनिको राजमार्ग भूकम्पपछि जीर्ण छ । सो राजमार्ग बनाउन चीन सरकारले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवमार्फत् दिएको रकमबारे पनि अर्थमन्त्रालयसँग सांसद सापकोटाले जवाफ माग्नुभएको छ ।

,