नाका नखुल्दा व्यापार चौपट

रामकृष्ण थापा-
भूकम्पपछि बन्द तातोपानी नाकाको असरले जिल्लाका अन्य क्षेत्रको व्यापार चौपट बनेको पाइएको छ ।
भन्सार बन्द भएयता अरनिको लोकमार्गअन्तर्गका बजार प्राय सुनसान छन् । कोदारी राजमार्गस्थित सीमाक्षेत्र तातोपानी, लिपिङ र नयाँपुल बजार भूकम्पपछि बन्द छन् ।  बाह्रबिसे, खाडीचौर, लामोसाँघु, सुकुटे  र बलेफी बजारको व्यापार पहिलेभन्दा आधा घटेको पाइएको हो ।
भित्रिबजारमा खोलिएका कतिपय पुराना होटेल, रेष्टुराँ र पसल बन्द भएका छन् ।  भूकम्पपछि एक वर्ष अरनिको र कोदारी लोकमार्गस्थित बजारको व्यापार बन्दजस्तै भयो । विस्थापित भूकम्पपीडित घर फर्केपछि बजारमा व्यापार केही बढेको थियो । तर, गत वर्ष २१ असारमा आएको भोटेकोसी बाढीले सीमावर्ती क्षेत्र तातोपानीदेखि खाडीचौरसम्म ठूलो क्षति पु¥यायो । भूकम्प र बाढीले क्षतविक्षत पारेको भौतिक संरचनाको पुनर्निर्माण नहुँदा बजार तंग्रिन सकेको छैन् ।
नाका खुल्दा मालामाल भएका व्यापारीमा निरासा छाएको छ । अधिकांश व्यापारीले पसल बन्द गरेर पलायन भएका छन् । खुलेका कतिपय पसल पनि ग्राहक नभएपछि दिउँसै सुनसान देखिन्छन् । पुराना बजारको रुपमा स्थापित बाह्रबिसे, लामोसाँघु र खाडीचौर भोटेकोसी बाढीपछि दिउँसो दुई नबज्दै बन्द हुन थालेको व्यवसायी पुरुषोत्तम भण्डारीले बताए ।
‘व्यापार घट्दै गएपछि अरनिको लोकमार्गआसपासका व्यवसायी निरास भएको बताउँदै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले भने, ‘तातोपानी नाका बन्द भएकोले बजारको अस्तित्व बिस्तारै संकटमा पर्दै गएको छ ।’ अहिले सो क्षेत्रको व्यापारिक कारोबार शून्यप्राय रहेको उनले प्रष्ट्याए ।
नाका खुल्दा लिपिङदेखि बन्देउसम्म दैनिक १० करोड बराबरको व्यापारिक कारोबार हुने गरेको थियो । तर, अहिले लोकमार्गका बजारक्षेत्रमा सरदर ३५ लाख मात्रै व्यापार हुने गरेको उद्योग वाणिज्य संघले जनाएको छ । भन्सार नचलेपछि ठूला व्यापारी नाका छोडेर विदेश पलायन भएका छन् । साना व्यवसायीले पनि धमाधम पसल बन्द गरेर अन्यत्र जानेक्रम बढ्दै गएकोले नाकावरिपरिको अस्तित्व नै संकटमा परेको हो ।
नाका खुलाउने प्रयासस्वरुप नेपाल र चीनका प्रतिनिधिबीच सात पटकसम्म बैठक भइसकेको छ । तर, भूकम्पको २७ महिना बितिसक्दा पनि नाका खुल्ने छेकछन्दै छैन ।  उच्चस्तरीय निरीक्षणमा पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालकाअनुसार चीनले न्यालम, खासास्थित अध्यागमन र क्वारेन्टाइन कार्यालय बनाइसकेको छ ।
दुवैतर्फ भौतिक संरचनाको पुनर्निर्माण भएपनि चिनियाँ पक्षले सीमा सुरक्षा चासोलाई चर्कोसँग उठाएकोले नाका खुल्ने कुरा अनिश्चित रहेको प्रजिअ सिलवालले बताए ।

,