भूकम्प प्रभावित जिल्लामा निःशुल्क इन्टरनेट

नेत्रबहादुर बस्नेत/सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भूकम्प प्रभावित सम्पूर्ण जिल्लामा इन्टरनेट निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक प्रेस युनियनले उहाँकै निवासमा बधाई दिन आयोजित कार्यक्रममा मन्त्री बस्नेतले उक्त घोषणा गर्नुभएको हो ।
युनियनका काठमाडौंमा उपलब्ध सदस्यहरु बधाई दिनका लागि मन्त्री  बस्नेतकोमा गएको प्रेस युनियन सिन्धुपाल्चोकका उपसभापति दुर्गा आचार्यले बताउनुभयो । छिट्टै जिल्ला स्तरमा पनि बधाई कार्यक्रम गर्ने पनि आचार्यले बताउनुभयो । कार्यक्रममा काठमाडौंलाई आफ्नो कर्मथलो बनाई सञ्चारकर्म गरिरहेका २० पत्रकारको सहभागिता रहेको थियो ।

मन्त्री बस्नेतले तातोपानी नाका सञ्चालनमा आफूले पहल गरिरहेको र लार्चाको पूलको कारण आवतजावतमा समेत  समस्या उत्पन्न भएकोले उक्त स्थानमा पहिलो प्राथमिकताका साथ समस्या समाधानको लागि आफू लागि परेको बताउनुभयो । उहाँले आफूले उक्त क्षेत्रको समस्या समाधानको लागि कुनैपनि कसर बाँकी नराखी अग्रसर रहेको समेत प्रष्ट पार्नुभयो ।  
यसैबीच सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै सञ्चार मन्त्रालयमा समितिका प्रतिनिधिहरुसँग मन्त्री बस्नेतले पत्रकारका समस्या समाधानका लागि आफू लागिपर्ने बताउनुभयो ।
उहाँले दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने आफूले सुनेको हुँदा यसतर्फ पनि आपूm चनाखो रहेको र यस समस्याको समाधानार्थ आफू लागि पर्ने बताउनुभयो ।
उहाँले श्रमको सम्मान गर्न सक्यो भने मात्र मालिकको लक्ष्य पूरा हुने भएकोले श्रमको सम्मान गर्नु नै सञ्चार गृहहरुको पहिलो दायित्व हुन आउने बताउनुभयो ।
उहाँले सञ्चार गृहको पनि आफ्नै समस्या हुन सक्छ त्यस्ता समस्याहरुलाई श्रमजीवी पत्रकार र सञ्चारगृहबीच संवाद र छलफलद्वारा समस्या समाधान गर्दै श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने समेत बताउनुभयो । र उहाँले श्रमजीवी पत्रकारहरुको समस्या  समाधानका लागि मन्त्रालय र आफ्नो तर्फबाट  हुनसक्ने सहयोग गर्ने बताउनुभएको छ ।
 सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने भन्दै उहाँले दुवै पक्षले आपसी समन्वयमा वार्ता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने बताउँदै सञ्चार मन्त्रालय मुलुकका लागि धेरै जिम्मेवार मन्त्रालय भएको र यस मन्त्रालय अन्तर्गत थालिने सुधार कार्यमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष पोषण केसीले ६० जिल्लामा श्रमजीवी पत्रकार, कर्मचारी र कामदार औपचारिक तथा अनौपचारिकरुपमा अनुगमनमा सहभागी गराई प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभएको थियो ।

,