बाढी पीडितलाई मेलम्चीबासीको राहत

केही दिन अघि परेको निरन्तरको वर्षाले मुलुकका विभिन्न भागमा आएको पहिरो र विशेष गरी तराईमा आएको बाढी पिडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन गरेका छन् ।
हिजो मेलम्ची बजारमा स्थानियवासी, रेडियो मेलम्ची , उद्योग वाणिज्य संघ मेलम्ची, प्रगती अंग्रेजी मावि, मेलम्ची कम्युनिटि स्कूल, ईन्द्रावती बहुमुखी क्याम्पस स्ववियु एवम् रेडक्रस सोसाइटी लगायतको सक्रियतामा एकमुष्ट रुपमा राहतका लागि नगद संगलन गरिएको छ ।
हिमाल पहाड तराई कोही छैन पराई, तराईमा आँधी आए पहाडले छेक्नु पर्छ लगायतको नारा लेखिएको प्लेकार्ड बोक्दै स्थानियले स्तस्फुर्त रुपमा राहत स्वरुप नगद संकलन गरेका थिए । मेलम्ची बजारका विभिन्न व्यवसायी तथा बटुवाहरुले आ आफ्नो गच्छे अनुसारको सहयोग रकम उपलब्ध गराएका थिए । भुकम्पमा आफुहरुलाई टाढा टाढाबाट रहात पठाएर सहयोग गरिएको र आफुहरुले पनि मानवियताको भावनालाई सहयोग संकलन गरी पठाउन लागिएको मेलम्चीवासीले बताउँछन् ।
यसैबिच, हिजो संकलन भएको नगद रु ८१ हजार सात सय दुई रुपैंया मेलम्ची ११ नं. का वडा अध्यक्ष रुद्र प्रसाद दुलालले रेडियो मेलम्चीका अध्यक्ष सरोज ढुंगानालाई हस्तान्तरण गर्नुभएको छ । सो रकममा आ–आफ्नो तर्फबाट सहयोग थपी तराईबासीको पिडामा मलम लगाउने चाहने ईच्छुकलाई केहि दिन खुला गरिने जनाइएको छ । संकलन भएको एकमुष्ट रकम तराईका बाढि पिडितसम्म पुर्याइने रेडियो मेलम्चीले जनाएको छ ।