मेलम्ची सम्पन्न भएपछि दैनिक ४ घण्टा पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अब चाँडै नै काठमाडौंका प्रत्येक घरमा दैनिक ४ घण्टा खानेपानी आउने बताएको छ ।
लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आएपछि यहाँका प्रत्येक घरका धारामा नियमित रुपमा दैनिक ४ घण्टा खानेपानी आउने बताएको हो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा परिकल्पना गरिएको राष्ट्रिय गौरवको आयोजनाको विभिन्न कालखण्डमा चरणबद्ध रुपमा काम भएसँगै करिब ३ दशकपछि  यही वर्षको पुस महिनामा मेलम्चीको पानी राजधानी ल्याउनेगरी काम अघि बढाइएको छ ।
निर्माणको चरम मारमा खानेपानीका पाइप

काठमाडौंमा हुने गरेका भौतिक विकास कार्यका कारण जमिनमुनिका पाइपहरु संकटग्रस्त अवस्थामा रहेका छन् । ‘निर्माण भएका भौतिक संरचनाको मर्कामा यहाँका पाइपहरु पर्ने गरेका छन्,’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रवन्धक महेशप्रसाद भट्टराईले भन्नुभयो, ‘चरणवद्ध रुपमा हुँदै आएको सडक विस्तार, ढल निकासी, बिजुलीका पोलको स्थान्तरण, घर भत्काउनेलगायत हुनेगरेका जुनसुकै संरचनागत विकास निर्माणका कारण खानेपानीका पाइपहरु संकटमा पर्ने गरेका छन् ।’
केयुकेएलकाअनुसार हाल प्रयोग हुँदै आएका पाइपहरु सयवर्षसम्म पुराना रहेका छन् । ‘चक्रपथभित्र रहेकामध्ये करिब ७० प्रतिशत पुराना पाइपहरु विस्थापन गरिसकिएको छ,’ भट्टराईले भन्नुभयोे, ‘बाँकी स्थानमा पनि नयाँ पाइपहरु बिच्छ्याउने काम भइरहेको छ ।’ पाइप बिच्छ्याउने काम भइरहेकाले पनि हाल सडकमा यातायात सञ्चालन तथा पैदलयात्रु आवागमनमा केही समस्या रहेको भट्टराईले बताउनुभयो ।
भट्टराईका अनुसार बुढानिलकण्ठ–लैनचौरका पाइप समयक्रमसँगै कमजोर र विभिन्न चरणमा भइआएका सडक मर्मत कार्यका कारण जोखिममासमेत रहेका छन् । यस्ता पाइपहरु समयमै मर्मत नगरिँदा एकातिर उपभोक्ताहरुको धारासम्म शुद्ध खानेपानी पुग्ने सम्भावना कम रहेको छ भने अर्कातिर लिकेज भएका पानीका कारण सडकमा बारम्बार समस्या आइरहने गरेका छन् । ‘पुराना पाइपका कारण सडकमा आएका समस्याप्रति हामी जानकार छौं,’ भट्टराईले भन्नुभयोे, ‘मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पिआइडी (आयोजना कार्यान्वयन निर्देशनालय) ले तोकिएका सम्पूर्ण स्थानमा नयाँ पाइपहरु नबिच्छ्याउञ्जेलसम्म यस्ता समस्याहरु आइरहन्छन् ।’  
खानेपानीको समानुपातिक वितरण हुने
हाल केयुकेएलले उपलब्ध गराइरहेको खानेपानीको वितरण प्रणाली स्थानअनुसार एकैनासको छैन । काठमाडौंका कुनै स्थानका धारामा हप्ताको सातैदिन चौबिसै घण्टा पानी आउने र कुनै स्थानका धारामा ६ दिन बिराएर ४५ मिनेट पानी आउने गर्छ ।
यही वर्षको पुस महिनाबाट काठमाडौं आउने मेलम्ची खानेपानी वितरणका लागि जडान गरिएका पाइपहरुमा भने त्यस्तो समस्या रहनेछैन । काठमाडौंका चारै दिशातर्फका जुनकुनै बस्तीमा समान रुपले खानेपानी प्रवाहित हुनेछ ।
यसका साथै मेलम्चीको पानी काठमाडौं आएपछि उपभोक्ताहरुले हाल खानेपानीका लागि खर्च गरिरहनुपरेको समय, परिश्रम र रकमको दीर्घकालीन समाधान हुने केयुकेएलको प्रारम्भिक आँकलन छ । ‘मेलम्चीको पानी धारासम्म पुगेपछि उपभोक्ताहरुले हामीलाई तिर्ने महसुल हालको तुलनामा बढी पर्न जाला तर खानेपानीका लागि गरिरहनुपरेको संघर्षका तुलनामा उपभोक्ताहरुले तिर्नुपरेको नयाँ महसुल रकम कम महसुस गर्नेछन् ।’

,