साँगाचोक प्रहरीद्वारा अवैध गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जिल्लालाई पूर्ण शान्ति सुरक्षा एवम् आफू सुरक्षित रहेको महसुस जिल्लाका नागरिकहरुलाई दिलाउन गुण्डागर्दी निमूल पार्नका साथै अवैध रुपमा सञ्चालन हुने कुनै पनि क्रियाकलापको अन्त्य गरेर आम नागरिकलाई पूर्ण प्रशासनको उपस्थिति देखाउने प्रतिवद्धता व्यक्त गरेसँगै जिल्ला स्थित प्रहरी कार्यालयहरुले पनि अवैध कार्य रोक्न र जिल्लालाई शान्ति सुरक्षाको पूर्ण आभाष दिलाउन लागिपरेका छन् ।
पछिल्लो समयमा साँगाचोक प्रहरी चौकीले सवारी निरिक्षण तथा घरेलु  अवैध मदिरा ओसारपसार विक्रीवितरण तथा अवैध रुपमा खेती गरिएको गाँजा खेती नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।
साँगाचोक प्रहरी चौकीका प्रमुख प्रनानी कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले हिजो फेरी अवैध रुपमा गरिएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीबाट लुकिछिपि गरेका यस्ता गाँजाखेती र लुकाइछिपाइ विक्री गरिने घरेलु मदिराका कारण पूरै गाउनै नकारात्मक तिर जान सक्ने भन्दै स्थानीयहरुले प्रहरीलाई गाँजा खेती नष्ट गर्ने गरेका छन् ।
चौतारा साँगाचोकगढी नपा वडा नं. ११ मा काठमाडौंबाट युवतीहरु आउने गरेका र स्थानीय बालबालिकासँग गाँजा खरिद गर्ने गरेको र स्थानीय बालबालिकाले समेत गाँजा प्रयोग गर्ने गरेपछि स्थानीयले खबर गरेर उक्त अवैध गाँजा खेती नष्ट गरेका हुन् ।
यसैबीच स्थानीयकै सहयोगमा साँगाचोक बजारमा अवैध रुपमा लगाइएको  २० बोट गाँजा समेत साँगाचोक प्रहरीले फँडानी गरेको छ । साँगाचोक प्रहरीले अवैध रुपमा विक्री वितरण हुँदै आएको घरेलु मदिरा समेत बरामद् गरी नष्ट गर्ने क्रमलाई अझ बढी प्राथमिकता दिइरहेको छ ।
यसै क्रममा हिजोमात्र सय लिटर भन्दा बढी घरेलु मदिरा नष्ट गरेको प्रनानी कृष्ण अधिकारीले जानकारी दिनुभयो ।