पिस्करका विस्थापीतको प्रश्न, ऋण गरेर बनाएको टहरा बगायो, हामी कहाँ जाने ?

बुद्ध घले/जिल्लामा विकट रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो लागेको छ । पहिरोले गर्दा तीन परिवार विस्थापीत भएका छन् भने, अविरल वर्षाको कारण झरिरहेको पहिरोले बस्ती नै जोखिममा परेको छ ।
प्रत्यक्षदर्शी पिस्करका टेकबहादुर खड्काअनुसार  रातको दुईबजे अचानक पहिरो झरेको थियो । बेलैमा भागेर आफु बाँच्न सकेको नभए अनाहकमा ज्यान गुमाउने जोखिम मोल्नुपरेको उहाँले बताउनुभयो ।
उहाँले घरसम्पत्ती सबै पहिरोले पुरेको र नौ लाख बराबरको पसल देखि बाख्रा,कुखुरा सबै पहिरोमा पुरीएको बताउनुभयो ।

लोकबहादुर खड्काको नयाँ बनाएको भूकम्पप्रतिरोधी घरसहित जमिनका भुभाग सबै बगाएको छ  । ‘अब कहाँ जानु हामी ? ,’ उहाँले भन्नुभयो ,‘भगवानको कस्तो प्रकोप हो, अब कसरी बाँच्नु ?’  
पिस्करका अगुवा शिक्षक पृथ्वीजंग पाण्डेका अनुसार विकट पिस्करका थामीटोल, मुलाटोल ,खड्काटोल लगायतका स्थान पहिरोको जोखिममा परेका छन् । रातको दुई बजे पहिरो झरेर पुरेपछि तत्कालै प्रहरीले उद्धारकार्य थालेको थियो ।
‘माथिल्लो भेगका जमिन पुरा भास्सिएर झरेको पहिरो झरिरहेको रहेछ , हाल सबैलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छौ, ’ इलाका प्रहरी बाह्रबिसेका प्रमुख पञ्चकुमार बाखुले  भन्नुभयो,‘ असुरक्षित भुभागबाट टाढा रहेर बस्न यथासक्दो सहयोग गरेका छौ ।’ उहाँले घटनास्थलमा प्रहरीले उद्धार गरिसकेको र सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताउनुभयो ।
‘पहिरोले पिस्करका बस्ती असुरक्षित बनाएको छ ,’ पिस्करका स्थानीय पाण्डेले भन्नुभयोे,‘ खेतीयोग्य जमिनदेखि बल्लतल्ल ऋण गरेर बनाएको टहरा समेत बगाएको छ ।’
पिस्करमा विपन्न वर्गका कृषकको आयस्रोत र घर समेत पुरेपछि बिचल्ली भएको पाण्डेले बताउनुभयो । कुखुराफर्मका चारसय कुखुरा, सय भन्दा बढी पशु , तीन वटा घर देखि खड्काटोलको पुरा भुभाग भास्सिएको छ । पाण्डेकाअनुसार पिस्करको माथिल्लो भुभाग पहिरोले फाटेकाले दर्जनौ स्थान पहिरोको उच्च जोखिममा छ ।

,