मानब बेचबिखन सम्बन्धी अभिमुखीकरण

मानब बेचबिखन तथा ओसारपसार  सम्बन्धी  अभिमुखीकरण कार्यक्रम हिजो विपत व्यवस्थापन समितीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको  छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेमराज फुयाँलको सभापतित्वमा भएको  कार्यक्रममा जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरे ,महिला विकास अधिकृत सिता अधिकारी, नानीमैँया बस्नेत, जिल्ला समन्वय समितिका कार्यक्रम संयोजक राजुभाई श्रेष्ठ, गैर सरकारी संस्था महासंघका सोम सापकोटा, घरेलु तथा साना उद्योग विकासका अधिकृत कल्पना शर्मा, जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्यायधिवक्ता नारायण प्रसाद घिमिरे, कारागार कार्यालय नासु नवराज सेन, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुका वडा अध्यक्ष तीर्थबहादुर श्रेष्ठ, सोही वडाका वडा सचिव शान्ति ढकाल  लगायत सामी परियोजना सेबक नेपाल, टिपीओ नेपाल, माइती नेपाल, पुर्नस्थापनाः शक्ति समूह पूर्नस्थापना केन्द्र लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा आप्रवासी महिला कामदार तथा मानव बेचबिखन ओसारपसारबाट प्रभावितहरुलाई आर्थिक गतिविधिमा पूर्ण सहभागिता गराउन सीपमूलक तालिम सञ्चालन सम्बन्धि प्रकाश पार्दै उनीहरुको  रोजगारमा पहुँच कार्यक्रम सञ्चालन गर्न सिन्धुपाल्चोकमा यो कार्यक्रम लागु गरिएको एफ्.स्कील प्रालिका जिल्ला संयोजक सन्तोषी बस्नेतले बताउनु भएको थियो भने एफ्.स्कील प्रालिले अहिलेसम्म गरेको गतिविधिहरुका बारेमा व्यवसाय विकास सहायक शुसान्त हर्ष बज्राचार्यले प्रकाश पार्नु भएको थियो भने सामाजिक विकास अधिकृत संगिता तामाङले यस कार्यक्रमको प्रभावकारीता र उदेश्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
विदेशबाट फर्किएको महिलाहरुको लागि स्थानीय स्तरमा नै उत्पादित स्थानीय आवश्यकता अनुसार को तालिमको व्यवस्था गर्दा उपयोगी हुने साथै अरु तालिम भन्दा फरक तालिम गरेर स्थानीय सरोकारवालाहरुसँग समन्वय गरी महिलाको जीवनस्तर उकास्ने उदेश्य बोकेको र तालिमको प्रभावकारिता र तालिम पछिको स्थायित्वको बारेमा जोड दिनुपर्ने महिला विकास अधिकृत सिता अधिकारीले बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत वडा नं. १ स्याउले र वडा नं. ८ इर्खु, हेलम्बु गाउँपालिका वडा नंं. ६, ७ इचोक र लिसंखुपाखर गाउँपालिका वडा नं. ७ ठूलोपाखरमा विदेशमा गएर फर्किएका र मानव बेचबिखन तथा ओसार पसारबाट प्रभावित महिलाहरुलाई स्थानीय आवश्यकता हेरेर उनीहरुको आयआर्जन विकासको लागि प्रशिक्षण तथा रोजगार सिर्जनाको लागि यु.एन.ओमनको सहयोग र सहकार्यमा एफ्.स्कील प्रालिको आयोजनामा विभिन्न जीवनोपयोगी तथा व्यवसायिक सीप तथा उद्यमसिलता क्षमतामा अभिवृधि गराउने तालिम सञ्चालन गर्न लागेको छ ।
उक्त कार्यक्रममा एफ्.स्कील प्रालिका कार्यक्रम प्रबन्धक कुम बहादुर गुरुङले प्रशिक्षण सञ्चालन र उनीहरुको पारदर्शितासँग सम्बन्धित तथा तालिमको समग्र विषयलाई प्रकाश पार्दै आगामी दिनमा स्थानीय सरोकारवालाहरुसँग समन्वय गरी यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो
महिला तथा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु लगायतको विशेष उपस्थितीमा अभिमुखीकरण तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको समापन गर्दै प्रशासकीय अधिकृत हेमराज फुयाँलले यो संस्थाबाट सुरु गरिएको कार्यक्रम योजना धेरै राम्रो रहेको र यस्ता किसिमका तालिमहरु तालिमको रुपमा मात्र नभएर वास्तविक व्यवहारिक काममा पनि उतार्नुपर्ने र बजेटीकरणको पारदर्शिता गर्नुपर्ने बताउनुभयो ।