साँगाचोकमा लिफ्ट खानेपानी सञ्चालन हुने

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, ११ र १२ (साविक साँगाचोक गाविस)मा वृहद् लिफ्ट खानेपानी योजना सञ्चालन हुने भएको छ ।
नेपाल सरकारले साँगाचोक र आसपासका क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर खानेपानी योजना सञ्चालन गर्न लागेको हो । नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गत खानेपानी विभाग सुख्खाग्रस्त क्षेत्र आयोजनाबाट रकम विनियोजन भई योजना सञ्चालन हुन लागेको हो ।
साँगाचोक जाडेरखोला, टुनीबोटेको पानी करिव ४ किमि माथि हर्रे होल्का डाँडामा लिफ्ट गरी साँगाचोकका सबै वडाका घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ जोडेरखोला ्टुनिवोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी आयोजना अगाडि बढाइएको समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनुभयो ।

अध्यक्ष पराजुलीका अनुसार लिफ्ट खानेपानीबाट साँगाचोकका करिव २ हजार २ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् र प्रत्येक घरमा मिटर जडान सहित धारा रहने छ । आयोजनाको लागत करिव २९ करोडको रहेको छ ।
काम सुरु भएको करिव अढाई वर्षमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सम्पूर्ण डिजाइन स्टिमेट तयार गरी आवश्यक प्रक्रिया पूरा गरी कामको ठेक्का लगाउने तयारी भइरहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो ।
कार्यालय प्रमुख उपाध्यायका अनुसार जिल्लामा यति ठूलो लिफ्ट खानेपानी आयोजना सम्भवत यो नै पहिलो हो र यसबाट ठूलो संस्थामा करिव १२ हजार जनसंख्या प्रभावित हुनेछन् । त्यसैले आयोजना सफल बनाउन निकै चुनौती पनि छ ।
बिहिबार साँगाचोकमा उपभोक्ता समितिले आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित खानेपानी कार्यालय प्रमुख उपाध्यायले यो आयोजना सम्पन्न हुँदा यस क्षेत्रमा अबको २० वर्षलाई खानेपानीको खासै समस्या नपर्ने बताउनुभयो ।
साँगाचोक जिल्लाकै सुख्खा तथा खानेपानी समस्याग्रस्त ठाउँको रुपमा रहेको छ । यहाँका स्थिति विगत वर्षदेखि नै खानेपानीको समस्या झेल्दै आएका छन् । तर अब यस आयोजना समपन्न भएपछि भने खानेपानीको लागि समस्या नहुने कुरामा स्थानीयवासी ढुक्क देखिएका छन् ।

,