ठोकर्पालाई अन्तराष्ट्रिय वन अध्ययन केन्द्र बनाईने

राम केसी/सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पालाई अन्तर्राष्ट्रिय वन अध्ययन केन्द्र बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
सामुदायिक वनको उद्गमस्थल मानीएको साविक ठोकर्पा गाविसमा दोस्रो सामुदायिक वन दिवसको उपलक्ष्यमा हिजो सम्बोधन गर्नुहुँदै त्यसका लागि वन मन्त्रालयमा प्रस्ताव पठाइसकेको उल्लेख गर्दै वन अध्ययन केन्द्र बनेपछि वन विज्ञानका विद्यार्थीहरुले समेत लाभ लिन सक्ने अपेक्षा राख्नुभयो ।
सो अवसरमा मन्त्री बस्नेतले छिटो भन्दा छिटो सूचना प्रवाह होस् भन्ने उद्देश्यले मुख्य मुख्य देशहरुमा निकट भविश्यमै सञ्चारदुतको समेत व्यवस्था गरीने बताउनुभयो । भूकम्प प्रभावित ११ जिल्ला र तराईका बाढी प्रभावित जिल्लाहरुमा छिटै नै निःशुल्क इमेल र ईन्टरनेट सेवा स्थापना गरीने समेत जानकारी दिनुभयो ।
विसं. २०३० सालमा साविक ठोकर्पा गाविस हाल सुनकोशी गाँउपालिका १ र २ मा पर्ने सो स्थानमा तत्कालीन प्रधानपञ्च नील प्रसाद भण्डारीले सामुदायिक वनको शुरुवात गर्नु भएको थियो । एक दिनको पैदल यात्रा गरी सदरमुकामा चौतारा भन्दा माथि रहेको पाल्तेपानी वन नर्सरीबाट डोकोमा विरुवा बोकेर वृक्षारोपण गरी पहिलो पटक सामुदायिक वनको शुरुवात भएको थियो ।
राष्ट्रिय वनबाट वन विनाश हुदै गएपछि समुहद्वारा वृक्षारोपण गरी समुहले नै हुर्काएपछि मात्र वन विनाश रोकिन्छ भन्ने मान्यताले सुरु गरीएको सो अभियान स्वदेशमा मात्र नभई विदेशमा समेत लोकप्रिय भएको छ । कार्यक्रममा मन्त्री बस्नेतले विभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुभएको थियो ।