दशैंमा मेलम्चीको पानी नआउने

यस वर्षको दशैंमा पनि मेलम्चीको पानी काठमाडौं नआइपुग्ने भएको छ । सुरुङ खन्न अझै दुई किलोमिटर बाँकी भएर पानी दशैंसम्म नआइपुग्ने भएको हो ।
मेलम्ची खानेपानी आयोजनाको सुरूङमा ’ब्रेक थ्रु’ हुन अब दुई किलोमिटर मात्रै बाँकी रहेको छ । मेलम्चीको २६ किमि सुरूङ खन्नुपर्नेमा २४ किमि सुरूङ खनेर सकिएको छ ।
अहिले मेलम्चीको खन्न बाँकी दुई किमि सुरूङमा चारतिरबाट खन्ने काम भइरहेको आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले बताउनुभयो । उहाँका अनुसार अब सिन्धु देखि ग्यालथुम एक किमि र ग्यालथुमदेखि अम्बाथान एक किमि सुरूङ खन्न बाँकी छ । सिन्धुदेखि ग्यालथुम सम्मको भु–भागमा नरम चट्टान भेटिएकोले काम गर्न कठिन भएको दवाडीले बताउनुभयो ।
‘जुन गतिमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन । तर अब धेरै काम सकिएको छ ।’ उहाँले भन्नुभयोे, ‘खराब चट्टान भेटिने क्रम चलिरहे ढिलोमा डिसेम्बर र कडा चट्टान भेटिए अझै चाँडै सकिन्छ ।’
सुरूङको काम सकिएपछि तीन महिनाभित्र पानी पठाउन सकिने उहाँले बताउनुभयो । दशैँसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने योजना रहेपनि तोकीएको समयभन्दा झण्डै छ महिना ढिलो हुने निश्चित भएको छ । सुरूङ खन्ने क्रममा खराब चट्टान भेटिएकोले काममा ढिलाइ भएको दवाडीले बताउनुभयो ।

,