सहमति पछि टुङ्गियो आन्दोलन

विभिन्न ६ बुँदे माग राखी नेपाल विद्यार्थी संघ श्री कृष्ण रत्नगंगा मावि इकाईले भाद्र १२ गतेबाट सुरु गरेको शान्तिपूर्ण आन्दोलन विद्यालय व्यवस्थापन समिति र नेवि संघ प्रतिनिधिबीचको वार्ताबाट सहमतिमा पुगेर टुङ्गिएको छ ।
नेपाल विद्यार्थी संघले विद्यालयले भौतिक शुल्क तथा जग्गाभाडा महंगो रुपमा विद्यार्थीसँग उठाएको, अतिरिक्त क्रियाकलापहरु पर्याप्त मात्रामा सञ्चालन नगरिएको, पुस्तकालय स्थापन नगरिएको लगायतको ६ बुँदे माग राखी शान्तिपूर्ण आन्दोलन गरिरहेको थियो । नेवि संघ प्रतिनिधि र विद्यालय व्यवस्थापन समिति बीचको हिजो बसेको वार्ताबाट प्लस टुको तर्फबाट कूल विद्यार्थी संख्याको ५ प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति यसै शैक्षिक सत्रदेखि उपलब्ध गराउने, पुस्तकालय तिहार अगाडि नै सञ्चालनमा ल्याउने, अतिरिक्त क्रियाकलापलाई नियमित गर्ने लगायतको सहमतिपछि आन्दोलन टुङ्गिएको नेविसंघ इकाई उपसभापति निर्मल श्रेष्ठले बताउनुभयो ।
आगामी दिनमा विद्यालयको आर्थिक, सामाजिक, राजनीतिक स्थिति सुधार गर्नका लागि विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र विद्यार्थी संघको निरन्तर छलफल आवश्यक रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिने सहमति भएको इकाई सभापति गिरीराज कटुवालले जानकारी दिनुभयो ।