किन भइरहन्छ सुन तस्करी ?

प्रहरीको तथ्याङ्क अनुसार रसुवा नाकाबाट पछिल्लो समय बढी सुन तस्करी हुन थालेको छ । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको केरुङ नाकाबाट सुन तस्करी हुन थालेको हो ।
रसुवा नाकाबाट तस्करी भएका सुन पक्राउ परेका ठूला घटना
रसुवा नाकाबाट दैनिक जसो सुन तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । तर त्यसमध्ये सानो अशं मात्रै बेला बेलामा पक्राउ पर्ने गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को तथ्याङक अनुसार केरुङ नाकाबाट १३० किलो भन्दा बढी सुन तस्करी भएको छ ।
– भदौ १५ गते सिआइबीद्वारा केरुङ नाकाबाट नेपाल भित्रिएको १५ किलो सुनसहित सात जनालाई पक्राउ ।
– भदौ १९ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीद्वारा ८८ किलो सुन बरामद ।  गाडी चालक मनोज अधिकारी ।
–२०७३ जेठ ३० गते – रसुवा टिमुरे–५ का काङकाङ तामाङ ६ किलो सुनसहित पक्राउ परे ।
–२०७३ पुस ६ गते – रसुवा गत्लाङ–२ का विरेन लामा ५ किलो सुनसहित पक्राउ परेका थिए ।
– काभ्रेका ४६ वर्षे चक्रबहादुर धमला गएको माघ १० गते ११७ दशमलव ३२ ग्राम सुनसहित पक्राउ परेका थिए ।
– २०७३ चैत ३ गते – रसुवा उत्तरगया गाँउपालिका–२ का ३५ वर्षे प्रकाश गैरे पक्राउ । उनको साथबाट ७ किलो सुन बरामद ।
– २०७३ मंसिर १९ गते केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १० किलो सुन बा ५५ प १७७२ को मोटरसाइकलको एयर फिल्टरबाट बरामद ।
– २०७४ असार ६ गते – सिन्धुपाल्चोक बाह्रबिसे नगरपाकिला–४ का ३० वर्षे कृष्ण बहादुर श्रेष्ठ र दिनेश रोक्का पक्राउ । उनीहरुको साथबाट दुई किलो सुन बरामद ।
यी त प्रहरीले बरामद गरेका केही उदाहरण मात्र हुन । रसुवा नाकाबाट दैनिक जसो सुन तस्करी भएपनि अधिकाशं जसो काठमाडौं आएपछि मात्रै पक्राउ पर्नुले अर्को आशंका उब्जाएको छ । जबकी रसुवा नाकाबाट काठमाडौं आउन ११ वटा नाका पार गर्नुपर्छ ।
११ चेकपोष्ट पार गरेर काठमाडौंमा सुन
रसुवाबाट काठमाडौं आउन ११ वटा चेकपोष्ट पार गर्नुपर्छ । नेपाली सेनाको चार वटा, नेपाल प्रहरीको पाँच वटा र सशस्त्र प्रहरीको दुईवटा चेक पोस्ट छन् । सबैजसो चेक पोष्टमा गाडी इन्ट्री मात्र हुने गरेका छन् । गाडीको नम्बर, लाइसेन्स नम्बर, साहुको नाम, चालकको नाम, यात्री संख्या र मोबाइल नम्बर टिपिन्छ तर गाडी जाँच हुँदैन ।
अझ सुरक्षा निकायकै मिलेमतो तस्करहरुले सुन ल्याउन आरोप लागेसँगै गाडी समेत इन्ट्री नहुने गरेको रसुवाका एक पत्रकारले बताए । ११ वटा सुरक्षा चेकपोष्ट पार गरेर सुन काठमाडौं आउनाले सुरक्षा निकायको पनि मिलेमतो हुन सक्ने एउटा बलियो प्रमाण भएको एक पूर्व प्रहरी अधिकारीले बताउनुभयो ।
राजश्व विभागको पनि कमजोरी
नेपाल प्रहरीका पूर्व एसएसपी लव विष्टले सुन तस्करी हुनमा प्रहरी भन्दा अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभाग रहेको बताउनुभएको छ । ‘अवैध निकासी पैठारी रोक्ने, नियन्त्रण गर्ने र कारबाही गर्ने प्रमुख दायित्व अर्थ मन्त्रालय अन्तर्गत राजश्व भन्सार विभाग तथा राजस्व अनुसन्धान विभागको हो’ उहाँले भन्नुभयो ‘प्रहरीको प्रमुख दायित्व समाजमा शान्ति सुरक्षा  र अमनचयन कायम राख्नु हो ।’
उहाँले सामाजिक सञ्जालमा स्टाटससमेत लेख्दै प्रहरी सुन तस्करीलाई पक्राउ गरेर कमिसन लिने लोभमा भन्दा पनि शान्ति सुरक्षा चुस्त राख्नसमेत सुझाव दिनुभएको छ ।

,