...र मसँग पैसा छैन

प्रिति श्रेष्ठ-
म हिँडिरहेँ सिंहदरबारको वरपर
मर्किएको खुट्टा घिसार्दै
जहाँ ट्याक्सी कुरिरहेको थियो,
नेपाल यातायात कुदिरहेको थियो,
तर म हिँडिरहेँ,
बिस्तारै बिस्तारै...
किनकि मसँग पैसा छैन् ।

केवल, केवल कागजमा नै
सीमित रहेको योग्यता बोकी
जागिरको खाजीमा भौतारिँदा
नफाटेका हैनन् यी जुत्ता
आमालाई सारी र
बाबालाई इस्टकोट किनिदिनेछु भनी
बिदा भएकी थिएँ घरबाट
राम्रो जागिरको आशामा
तर जहाँ गएँ पावर र घुसकै कुरा
हो, यो ठाउँमा इमान्दारिता छैन्
र मसँग पैसा ।

आँखा वरपर आमाले साँधेको गुन्द्रुक
र बाबाले भुटेको मकै भट्मास...
थाम्नसकेन्न यी आँखाले
अनि तप्प खसिदियो
जबरजस्ती अड्याइरहेको आँसु
होटलमा नबनेका त होइनन्
विभिन्न परिकार,
तर, तर म
भोको पेट निरन्तर हिँडिरहेको छु
केवल वास्ना सुघेर
किनकि मसँग पैसा छैन् ।

भोकले भनाँै या रोगले
म ढँले बिच सडकमा
जिउँदो लाश सरह
सबै आए, हेरे
केवल रमिता हेरे
अनि लागे आफ्नै बाटो
कसैले सोचेनन् कि
यो नानी मेरो बहिनी हो,
मेरो छोरी हो,
एक नेपाली चेली हो
किनकि यो ठाउँमा मानवियता छैन्
र मसँग पैसा ।