माझीवस्तीका लागि श्वेतालाई ऋण

२०७५ सालको सुरुवाती दिनमै माझिहरुलाई नयाँ घरमा प्रबेश गराउने सपना थियो नायिका श्वेता खड्काको तर उहाँको सपना पुरा हुन पाएन । सरकारी अनुदानको प्रकृयाले गर्दा भूकम्प पीडितले पाउनु पर्ने अनुदान रकम समयमै नपाउनुले निर्माणको काम प्रभावित हुन जाँदा श्वेताले नयाँ बर्षमा माझिहरुलाई नयाँ घर दिन सक्नुभएन ।

गत वर्षको श्रावनदेखि थालिएको ५३ घरको निर्माण कार्य  अहिले पनि चलिनै रहेको छ ।  सरकारी अनुदान र बैकको सहुलियत ऋण मार्फत घर निर्माणको काम गर्ने र अन्य भौतिक पुर्वाधारहरुको निर्माण श्वेताश्री फाउण्डेशनको कोश मार्फत गर्ने योजना स्वरुप थालनी गरिएको एकिकृत नमुना बस्ति निर्माणको काम  सरकारी अनुदानको ढिलासुस्तीले कछुवा गतिमा घिस्रीरहेको यस अवस्थामा श्वेताले आफ्नो जग्गा धितो राखेर ब्यक्तिगत नाममा ऋण लिई माझी बस्ती निर्माणको कामलाई तीव्रता दिन लागिरहनुभएको छ ।
‘सरकारी अनुदानको भर पर्दा काममा ढिलाई भयो, अब आफ्नै ब्यक्तिगत पुँजी लगाएर कामलाई अगाडि बढाउनेछु’ नायिका खड्काले भन्नुभयो । हाल उहाँले आफ्नो जग्गा धितो राखेर २५ लाख ऋण लिई रोक्किएको काम सुचारु गर्न माझी बस्तिलाई उपलब्ध गराइ सक्नुभएको छ ।
‘यो रनिङ्ग पुँजी हो, सरकारी अनुदान नआएसम्मको लागि काम चलाऊन’ माझी बस्तीका दिनेश माझीले भन्नुभयोे ‘अब यो रकम मार्फत हामी घर निर्माणको कामलाई तिब्रता दिनेछौ ।’
सरकारी निती अनुसार ३ लाख अनुदान रकम लिइसके पस्चात घर निर्माणको लागि कुनै संघसंस्थाले आर्थिक सहयोग गर्न नमिल्ने प्रावधान छ । त्यसैले श्वेताश्री फाउण्डेशनले हाल माझी बस्तिमा बन्ने घरहरु निर्माणका लागि जग्गा ब्यवस्थापन, निर्माण उपकरण सहयोग र प्राविधिक सहयोग उपलब्ध गराउँदै  आएको छ ।
फाउण्डेशनको कोशमा रहेको रकम घर निर्माणमा खर्चिन नपाउने भएको हुँदा फाउण्डेशनकी अध्यक्ष समेत् रहेकी नायिका श्वेता खड्काले आफ्नो व्यक्तिगत सम्पत्ती धितो रखेर ऋण लिनुभएको हो ।
‘म प्रशस्त धन बोकेर होइन स्वच्छ मन बोकेर माझी बस्ती निर्माणको अभियानमा लागिकी हुँ’ नायिका खड्काले भन्नुभयो ‘मैले प्रतिवद्धता जनाए अनुरुप भौतिक पुर्वाधार ब्यवस्थापनको पाटोमा आवश्यक सहयोग र स्रोत जुटाइसकेकी छु’ उहाँले थप्नुभयो ‘घर निर्माणको पाटोमा भने सरकारी अनुदान समयमै नपाउँदा ढिला भयो ।’
नायिका श्वेता खड्काको थाप्लोमा आईपरेको ऋण रकमलाई सरकारी अनुदान पाए पश्चात फिर्ता गरिने बताउँदै स्थानिय दिनेश माझीले भन्नुभयो ‘हाम्रो घर बन्दा श्वेता म्याम बेघर भएको हामी कसरी हेर्न सक्छौ र, उहाँले लिनु भएको यो ऋण चाँडो भन्दा चाँडो फिर्ता गर्ने प्रयास गर्छौ ।’
१८ प्रतिशत ब्याजदरमा काठमाडौको एक फाइनान्सबाट ऋण लिएर बस्ती निर्माणको  कामलाई अगाडि बढाई रहेकी नायिका श्वेता खड्काले सो बस्तीलाई एउटा सुन्दर, सफा र शान्त स्वर्गको रुपमा बिकास गर्ने सोच लिएको बताउनुभयो ।
परियोजना अन्तर्गत पहिलो चरणमा घर निर्माणको कार्य सम्पन्न भए पस्चात फाउण्डेशनले  अन्य भौतिक पुर्वाधारहरु जस्तै बाटोघाटो, बिजुली, सामुदायिक घर, खुल्ला रङ्गमन्च, बाल बगैचा लगाएत अन्य आवश्यक पुर्वाधरको  निर्माण गर्नेछ  ।
बस्ती निर्माणको काम समापन भए पस्चात सो बस्तिलाई ‘होम स्टे’ गन्तब्यको रुपमा चिनाई आतरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यलिईएको जानकारी दिँदै परियोजना व्यवस्थापक यज्ञराज कार्कीले यो बस्ती सिन्धुपाल्चोककै ‘नमुना’ बस्तिको रुपमा विकास हुने बताउनुभयो ।