नयाँ पार्टीलाई कार्यकर्ता व्यवस्थापन गर्न चुनौती हुने

देशको परिस्थिति, देश, जनता र समयको माग बमोजिम कम्युनिष्टहरु एकीकृत हुनुपर्ने भएकोले आवश्यकता अनुसार दुबै पार्टी बीच एकीकरण भएको सिन्धुपाल्चोकबाट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नुभएका मध्ये केशव नेपालले बताउनुभएको छ ।

 सिन्धुपाल्चोक जिल्ला साविक फुल्पिङडाँडा ८ हाल बलेफी गाउँपालिका ४ निवासी  वर्ष ५५ का नेपाल राजनीतिमा २०३२ सालदेखि नै सकृय रहनुभएको छ । नेकपाको एकीकृत चौंथो महाधिवेशनबाट राजनीतिमा सक्रिय रहनुभएका नेपाल  एकीकृत नेपाल कम्युनिष्ट पार्टी चौथौं महाधिवेशनको संस्थापक पाँच जना मध्येका एक व्यक्ति हुनुहुन्छ ।
नेकपा मसालको केन्द्रीय सदस्य समेत भएर काम गरिसक्नुभएका नेपाल एकता केन्द्र मसालबाट विद्रोह गरी नेकपा (२००६) को महासचिव समेत हुनुभएको थियो । नेपाल तत्कालिन नेकपा माओवादीसँग पार्टी एकता गरेर निरन्तर रुपमा केन्द्रीय सदस्य रहँदै आउनुभएको थियो ।
पहिलो संविधान सभाको सभासद् समेत हुनुभएका नेपाल अहिलेपनि एकीकृत नेकपाको केन्द्रीय सदस्य हुुनुहुन्छ । उहाँले वर्तमान एकीकरणको विषयलाई लिएर लोकप्रिय समाचारसँग कुरा गर्दै हाल भएको पार्टी एकीकरण नेपालमा छरिएर रहेका कम्युनिष्टहरु ध्रुविकरण प्रक्रियाको स्वभाविक परिणामको रुपमा यो एकता भएको बताउनुभएको छ ।
नेपालमा धेरै कम्युनिष्टहरु रहेको र समान उद्देश्यहरु भएकाहरुको बीचको एकीकृत र केन्द्रीकृत हुन आवश्यकता थियो । त्यहि आवश्यकता पूरा गर्नको लागि देशमा रहेका दुई ठूला शक्तिशाली पार्टीहरु एक भएर देशलाई समृद्ध बनाउँदै समाजवादी दिशामा अगाडि बढाउने लक्ष्य एवम् उद्देश्यका साथ यो एकता गरिएको नेपालले स्पष्ट पार्नुभयो । यसलाई बैचारिक र संगठनात्मक रुपमा पनि व्यवस्थित रुपमा अगाडि लैजानको लागि ऐतिहासिक आवश्यकता रहेको प्रष्ट पार्दै त्यहि आवश्यकता पूरा गर्न र देश, जनताको तत्कालिन आवश्यकता एवम् आम कार्यकर्ताको भावनाको कदर गर्न एकीकृत भएको समेत उहाँले बताउनुभयो । 
पार्टी एकीकरण पछि जिल्लाको अवस्थाको परिवर्तनको बारेमा उहाँले केन्द्रको एकता पछि प्रदेश हुँदै गाउँ र टोलसम्म एकता प्रक्रियामा अगाडि जानेछ । त्यहि शिलशिलामा सिन्धुपाल्चोकको एकता पछि नयाँ योजना कार्यक्रम सहित अगाडि बढ्ने योजना छ ।
जिल्लाको सबै योग्यता, विज्ञता र क्षमता भएका नेता तथा कार्यकर्ताहरुलाई योग्यता, विज्ञता र क्षमता अनुसार जिम्मेवारको बाँडफाड गरिनेछ । त्यसपछि जिल्लालाई समृद्ध बनाउन र देशकै नमूना जिल्लाको रुपमा सिन्धुपाल्चोकलाई विकास गर्न विभिन्न कार्ययोजनाहरु निर्माण गरी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
निर्वाचनताका वामपन्थी बिचारधारा उम्मेद्वारहरुले गरेको प्रतिवद्धता र घोषणापत्रलाई समेटेर जिल्लाको समग्र विकासको लागि विभिन्न नीति निर्माणहरु गरी कार्यान्वयनमा ल्याउने योजना अगाडि सारिएको पनि नेपालले बताउनुभयो ।
जिल्लाको पहिचान र नमूना जिल्लाको स्थापनाको लागि बाँकी रहेका अपूरा जलविद्युत आयोजनाहरुलाई पूरा गराउने, कृषि उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउँदै निर्यातको निमित्त व्यवस्था गर्ने, पर्यटन विकासको लागि पर्यटन मार्गको व्यवस्थापन गरी आवश्यक पर्यटकीय स्थलको स्थापना र संरक्षण गर्ने, कृषि उत्पादन वृद्धि गर्नका लागि आधुनिकिकरण, व्यवसायिकरण र यान्त्रिकरणको व्यवस्था मिलाउँदै अगाडि बढ्न स्थानीय निकायलाई व्यवस्थित व्यवस्थापन सहित परिचालन गर्ने लगायतका कार्यक्रमहरु कार्ययोजना समावेश गरी अगाडि बढ्ने बताउनुभयो ।
एकीकरण पछि आम कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नप्रति केन्द्रीत रहँदै नेपालले यो गम्भीर प्रश्न भएको र यसको व्यवस्थापन गर्नको लागि केन्द्रदेखि नै तल्लो तहसम्म समस्याहरु थिए । ती समस्याहरु मध्ये केन्द्रमा पूर्व दुवै पार्टीमा कार्यकर्ताहरुको व्यवस्थापनमा समस्याहरु थिए ।
एकीकृत पार्टीमा पनि ती समस्याहरु  छन् । त्यसलाई वैज्ञानिक ढंगले व्यवस्थापन गरेर गए मात्र समस्या सुध्रनेछ । अन्यथा पार्टीमा गम्भीर संकट पनि खडा हुने सम्भावना रहनेछ । त्यसैले तल्लो तहको व्यवस्थापनमा पनि केन्द्रले विषेश ध्यान दिनुपर्ने आवश्यकता रहेको समेत नेपालले बताउनुभएको । 

,