विस्थापितलाई बस्ने ठाउँको समस्या


बैशाख १२ को भूकम्पले घरबार लगेपछि सेलाङ सेपगाउँका बासिन्दा काफलेडाँडा आएर बसेको पनि तीन वर्ष भइसक्यो । आफ्नो जग्गामा बस्न नसक्ने भएपछि काफलेडाँडामा अरुको जग्गामा बस्दै आएका उनीहरु जग्गा नपाए कहाँ जाने अन्यौलमा छन् ।
भूकम्पअघि बस्दै आएको थातथलोमा पहिरोको उच्च जोखिम भएकाले उनीहरु फर्कन सकेका छैनन् । भूकम्पले जमिन हल्लाएपछि धाँजा फाटेको जमिन पहिरोको जोखिममा भएकले आफूहरु फर्कन नसकेको सुकुमाया तामाङ बताउँछिन् । ‘हामीलाई निकै समस्या छ, पुरानै ठाउँमा जाउँ भने माथिबाट पहिरो आउने डर छ,’ उनी भन्छिन्, ‘यहाँ बस्न सरकारले दिएको छैन ।’ अस्थायी टहरामा आश्रित उनी अब के गर्ने भन्ने अन्यौलमा रहेको बताउँछिन् ।
यतिबेला सुकमाया मात्रै होइन भूकम्पले आफनो घरबाट लखेटेपछि सेपगाउँका २२ घरपरिवार काफलेडाँडामा आश्रय लिएर बसेका छन् । ति मध्येकी हुन् लवाङ लामा पनि । उनको पीडा अरुको भन्दा अलिक बढि नै छ । किनकि बैशाख १२ को भूकम्पले अरुको त घर मात्र लग्यो तर उनको ७ जना बच्चाहरु पनि लग्यो । आफूले खाइ–नखाइ हुर्काएको बच्चा भूकम्पले लगेपछि उनको मनमा कम्ति पीडा छैन । बच्चाहरुसँगको  विछोडको पीडा त छँदै छ त्यसमाथि आफनो घरदेखि टाढा अरुको जग्गामा बस्नुपर्दाको पीडा त्यो भन्दा कम छैन । अरुकै जग्गा त्यसमाथि झिँगानेको झिँक्राले बारेको सानो छाप्रोमा कष्टकर दैनिकी चलिरहेको उनी बताउँछन् ।
‘पुरानो ठाउँमा जान सक्ने अवस्था छैन,’ लवाङ भन्छन्, ‘यहाँ पनि घर बनाउन पाइएको छैन ।’ चिसोमा जुगल हिमश्रृङ्खलाको सिरेटो खप्नुपर्ने र गर्मीमा जस्ताले पोल्ने समस्या भएको उनले बताए । भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बासिन्दा अस्थाई टहरोमा बसिरहेका छन् फरक यतिमात्र हो अरु आफ्नै जग्गामा बसिरहेका छन् तर सेलाङ, गुम्बा, गोल्चेसँगै सेलाङकै अन्य गाउँबाट विस्थापित भई सार्वजनिक जग्गामा बसेका छन् ।
‘सरकारले पैसा दिने भनेको पनि छ,’ विस्थापित लखन थापा भन्छन्, ‘जग्गा सटहीको पनि कुरा छ ।’ उनले सरकारले दुई लाख दिने भनिएको दिएमा छिट्टै सुरक्षित घर निर्माण गरेर बस्ने बताए ।
पहिले जस्तो घर बनाए पनि अब भने सरकारले जस्तो भन्छ त्यस्तै घर बनाउने यहाँका बासिन्दाहरुको भनाइ छ । अस्थाई टहरो कस्तो र कसरी बनाउनुपर्छ भन्ने कुरा पनि उनीहरुलाइ थाहा छ तर बनाउनका लागी सामगी्रको अभाव छ । सभासद अग्नि सापकोटाले दुई लाख वितरण गर्छौ भनेर आश्वासन दिएकाले पनि कतिपय त्यसकै पर्खाइमा बसिरहेका पनि छन् । तर कतिपय भने सरकारकै भर पर्न नहुने पनि बताउछन् । घर कस्तो बनाउने भनेर नक्सा भुकम्प पिडितले पाइसके घर यस्तो बनाउनुपर्छ भनेर पनि कण्ठै भइसके तर घर बनाउने रकम भने पाउने छाटँकाँट छैन ।
भूकम्पपछि काफलेडाँडामा आएर बसेकाहरु कोहि आफनै थाकथलो फर्किसके भने कोहि यहि जग्गा पाएदेखि भन्दै बसेका छन् । बस्न दिए त किनेरै भएपनि बस्थे भन्नेहरु धेरै छन् । सेलाङको काफलेडाँडामा किक्चे गाउँका चेत बहादुर लामा पनि बस्छन् । उनी भन्छन् ‘सरकारले भोलि यो ठाउँ छोड भने पनि म किनेर बस्छु तर किक्चे गाउँ र्र्फिकन्न ।’
सबैलाइ सबै खाले समस्या छ तर सेलाङमा बिस्थापित भएर बसेकाहरुको समस्या अरुको भन्दा फरक छ । तर पनि यहाँका बासिन्दाहरु सबै समस्याहरुलाइ लुकाएर बसेका छन् । कोहीकोहीले आफैँले पनि यसोउसो गरेर टहरो बनाउन थालिसके भने कोहि सरकारकै आस गरेर बसेका छन् ।
सेलाङमा गुम्बा गोल्चे गरि ८० घरधुरि परिवार अर्काको जग्गामा बसिरहेका छन् । सेपगाँउका मात्रै ३५ घरधुरी परिवार काफ्लेडाँडामा बस्दै आएका छन् । आफ्नै गाउँमा फर्काै भने पहिरो लाने डर भएकै कारण अरुको जग्गामा बस्नुपरेको यहाँका बिस्थापितहरुको गुनासो छ ।  सरकारले दुई लाख आज दिन्छु भोली दिन्छु भन्दा भन्दै अझै नदिए पछि कतिले आस पनि मारिसके, तर कोहि भने दिन्छ र बनाउँला भनेर दिन गनिरहेका छन् ।


,