‘स्मार्ट सिटी’ बनाउन स्थानीय तह तयार

गाउँवासीलाई सहज सेवा प्रवाहमा सहयोग पुग्ने निष्कर्ष निकाल्दै स्थानीय तहका प्रमुखहरुले आफ्नो नगर या गाउँपालिकालाई छिट्टै स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँको विकासलाई चाँडै गति दिई जनताप्रति हुने कार्यसम्पादनलाई चुस्त बनाउन पालिकाका प्रमुखहरुले छिट्टै स्मार्ट सिटी बनाउने जनाएका हुन् ।
राष्टिय सूचना प्रविधि दिवशको अवसरमा क्यान महासंघ सिन्धुपाल्चोकको आयोजनामा भएको  स्मार्ट सिटीको अवधारणा र कार्यान्वयनका चुनौति विषयक कार्यशालामा जिल्लामा रहेका नगर तथा गाउँपालिकाका प्रमुख या प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । सञ्चार तथा प्रविधि विज्ञ हेमन्त बरालले प्रस्तुत गरेको कार्यपत्रपछि पालिकाका प्रमुख तथा अध्यक्षहरुले स्मार्ट सिटी निर्माणमा पहल गर्ने जनाए । विज्ञ बरालले कार्यपत्रमा स्मार्ट सिटीको अवधारणा, विकासक्रम र निर्माणको आवश्यक प्रक्रियाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले स्मार्ट सिटी निर्माणपछि स्थानीयवासीले घरबाटै सेवाप्रवाह पाउने भएपछि आफूले छिट्टै पहल गर्ने बताए । उनले सूचना तथा प्रविधिबारे सम्पूर्ण ज्ञान नभएपनि आफूले यसबारे केही थालनी भने गरिसकेको रहेछ भन्नेबारे जानकारी भएको सुुनाए ।
चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले  सूचना प्रविधिलाई जनताको पहुँचमा पुर्याउन आफूले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् । “सूचना प्रविधि विना विकासको कल्पना गर्न सकिदैन, त्यसैले स्मार्ट सिटी आवश्यक छ” उनले भनिन्, “स्मार्ट सिटीका लागि हुनुपर्ने केही प्रक्रिया हामीले सुरु गरिसकेका रहेछौं, अब पूर्णताका लागि थप काम सुरु गर्नेछौं ।” नगरपालिकाको हावापानी र भूगोलका आधारमा सम्भाव्यता अध्ययन गरि स्मार्ट सिटीको योजना निर्माण गर्ने उनले बताइन् ।
इन्द्रावती गाउँपालकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव वंशलाल तामाडले प्रविधिलाई प्रयोजनमा ल्याउनु जरुरी रहेको बताउँदै अब टेलिमिटिड र भिडियो मिटिडकोसमेत व्यवस्था गरी सहज रुपमा जनतालाई सेवा दिनुपर्नेमा जोड दिए । “प्रविधिलाई पछ्याउँदै विकास गर्नु आवश्यक छ,” उनले भने । बंशलालको भनाईप्रति सहमत जनाउँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्मार्ट सिटीको अवधारणा अहिलेको समयमा निकै आवश्यक रहेकाले छिट्टै कामको सुरुआत गर्ने बताए । “म आफूले आफ्नै पालिकामा सुरु गर्छु, सबै पालिकाले एकैसाथ सरु गरे जिल्ला एकै चोटी स्मार्ट र समृछ बन्छ,” उनी भन्छन्, “विजुलीका विल, व्यक्तिगत घटना दर्तालगायतका काम अब तुरुन्तै गराउनेछु ।” उनले शिक्षा स्वास्थ्यलगायतका कामबाट सुरु गरि गाउँपालिकालाई नूमना बनाउँदै स्मार्ट सिटीको सरुपमा घोषणा गर्न आजैबाट पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा भएको कार्यशालामा क्यान सिन्धुपाल्चोकका अध्यक्ष निर्जन श्रेष्ठले स्मार्ट सिटी अहिलेको अत्यावश्यक भएकले कार्यक्रमको आयोजना गरिएको बताए । उनले समृद्ध जिल्लाका लागि क्यान सिन्धुपाल्चोकको यो अभियान वडा र गाउँ तहसम्म पुग्ने बताए । “तपाईहरुले चुनावमा स्मार्ट सिटिी बनाउँछु भन्नुभयो, वर्ष दिन बित्यो तर पहल भएन” अध्यक्ष श्रेष्ठले जनप्रतिनिधिप्रति इंगित गर्दे भने, “यसबारे सम्पूर्ण जानकारी नभएको हुनसक्ने भएकले हामीले सहजताका लागि कार्यक्रम गरेका हौं ।” श्रेष्ठले क्यान सिन्धुपाल्चोकले पालिकाहरलाई प्राविधिक सहयोग गर्ने बताउँछै स्मर्ट सिटीका रुपमा आफ्नो गाउँको विकास गर्नु जनप्रतिनिधिको कर्तव्यसमेत रहेको बताए ।


,