सांसद दवाडीको झण्डै दुई लाख रकम समाजसेवामा खर्च



काठमाडौँ, १६ जेठ । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो सांसदबापत् पाएको तलबभक्ता मन्दिर पुननिर्माणमा खर्च गर्नुभएको छ ।



सांसद दवाडीले  मंगलबार गोरखाको सुलिकोट गाउँपालिका–८ पन्दुङ तिनखाँडेमा रहेको शिव मन्दिर पुननिर्माणका लागि सहयोग गर्नुभएको हो । उहाँले मन्दिर पुननिर्माणका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद दवाडीले मंसीरमा सम्पन्न निर्वाचनमा सोही स्थानबाट आफ्नो चुनावी अभियानको सुरुवात समेत गर्नुभएको थियो ।

यस्तै सोही गाउँपालिका–७ पाँचखुवा देउरालीको अमले भन्ने गाँउमा रहेको जनचेतना आमा समूहलाई रु १५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

यसैगरी सांसद दवाडीले सुलिकोट गाउँपालिका–७ मा रहेको शैलपुत्री माध्यामिक विद्यालयमा रु ५५ हजार ५५५ को अक्षयकोष खडा गर्नुभएको छ । सोही अक्षयकोषबाट आउने व्याजबाट गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्ने समेत उहाँले घोषणा गर्नुभएको छ ।

सांसद दवाडीले यसअघि जेठ ७ गते सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय श्रीनाथकोटमा रु ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरिसक्नुभएको छ । सोही अक्षयकोषबाट आएको व्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि र कलम वितरण गरिने सांसद दवाडीले बताउनुभयो ।

लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गर्नुभएका उहाँ विस २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुनुहुन्छ ।

, ,