याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

देवराज सुवेदी/मेलम्ची- सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको याम्बालिङ् खोलामा ७ दशमलव २७ मेघावाट विद्युत उत्पादनका लागि चाइनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर सो आयोजनाको बारेमा जानकारी दिएको हो । याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताउनुभयो ।
१ अर्ब २० करोडको लागतमा बन्ने सो आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले बताउनुभयो । याम्बालिङ् हाईड्रोपावर प्रा.ली.ले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा एकनास बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।
यो सँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुललागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।
याम्बालिङ् हाईड्रोपावर निमार्णका लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईनेछ ।