एकीकृत स्वास्थ्य नीति बनाउने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता


लामो समयदेखि मनोविमर्शकर्ताहरुको रुपमा समुदाय स्तरबाट कार्य गर्दै आउनुभएका परामर्शकर्ताहरुको लागि महिला पुनस्र्थापना केन्द्र ­ओरेक) नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा “महिलामुखी दृष्टिकोणबाट मनोविमर्श” विषयमा ६ महिने तालिमको समापन तथा मनोसामाजिक स्वास्थ्य समस्या विषयक अन्तक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ ।
शारीरिक एवं मानसिकरुपमा स्वास्थ्य भएर बाँच्न पाउनु प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार हो । विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति स्वास्थ्य हुनु शारीरिकमात्र नभई मानसिक र सामाजिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहन्छ । तर स्वास्थ्य भन्ने बित्तिकै शारीरिक स्वास्थ्यमात्र बुझ्ने परिपाटीका कारण आम मानिसदेखि नीतिनिर्माणकर्ताहरु समेतले मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई स्वास्थ्यको प्रमुख सवालका रुपमा लिईएको पाईदैन ।
विश्व स्वास्थ्य संगठनका अध्ययन अनुसार हाल विश्वमा करिब ४५ करोड मानिस विभिन्न प्रकारका मानसिक एवं मनोसामाजिक समस्याबाट ग्रस्त छन् । यी मध्ये करिब ३० करोड मानिस डिप्रेसन (दिक्दारीपना) र एङजाएटी डिसअर्डर (डराउने रोग) बाट पीडित छन् । केन्द्रिय तथ्याकं विभागको जनगणना २०११ अनुसार नेपालमा ३०९९७ जना गम्भीर मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् । नेपालमा हरेक १०० जनामा २५ जनामा मानसिक स्वास्थ्य समस्या रहेको पाईन्छ ।
विश्व स्वास्थ्य संगठनका तथ्यांक अनुसार प्रत्येक ४० सेकेण्डमा १ जना मानिसले आत्महत्या गर्छन् भने नेपाल आत्महत्या गर्ने मुलुकहरुमा ७ औ स्थानमा पर्छ । प्रजनन् उमेर समूहको आत्महत्यामा नेपाल तेस्रो स्थानमा रहेको छ । जसको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या रहेको छ । महिलामाथि हुने हिंसा विरुद्ध वर्ष पुस्तक अन्वेषी का अनुसार प्रत्येक हिंसा प्रभावित महिलामा हिंसाका कारण मनोसामाजिक समस्या पर्ने गरेको र ३८ प्रतिशत महिलामा प्रत्यक्ष रुपमा मानसिक असर पर्ने गरेको पाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय स्वास्थ्य राज्यमन्त्री श्री पद्मा अर्यालज्यूले हाल नेपालमा बढ्दै गइरहेको मानसिक स्वास्थ्य समस्याको उपचारका निम्ति ठूला अस्पतालहरु खोल्नुभन्दा सो समस्याको मुख्य कारण पत्ता लगाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाँले सरकारको ध्यान नगएको क्षेत्रमा समुदायस्तरमा विगत लामोसमयदेखि अभियानरत महिला परामर्शकर्ताहरुलाई नै परामर्शकर्ताको रुपमा खडा गर्न संस्थालाई अभियानरत नै रहन सुझाव दिदै यस अभियानलाई परिणाममुखि बनाएर विधिमा ढाल्ने र एकीकृत स्वास्थ्य नीति बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोगका उप निर्देशक श्री यज्ञ प्रसाद अधिकारीले सरकारको कुल बजेटको ०.५ प्रतिशत मात्र बजेट मानसिक स्वास्थ्य क्षेत्रमा रहेको जनाउँदै यसमा परिमार्जन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
राष्ट्रिय महिला आयोगका सचिव  अनिल ठाकुरले हिंसा प्रभावित महिलाका निम्ति मनोसामाजिक विमर्श अति नै आवश्यक रहेको हरेक स्थानीय तहले नीतिगत तवरबाट मनोसामाजिक समस्या सम्बोधनका लागि कार्य गर्न सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं महानगरपालिका, सामाजिक विकासको विभागीय प्रमुख श्री नुर निधि न्यौपाने ज्यूले हरेक स्थानीय तहमा नै मनोसामाजिक विमर्शको डेस्क तयार हुनुपर्ने र यसको लागि बजेट र कार्यक्रम सहितको प्रस्ताव काठमांडौ महानगरपालिकाको नेतृत्वमा पेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ओरेक नेपालका कार्यसमिति कोषाध्यक्षा श्री पार्वति बस्नेतले महिलामुखि दृष्टिकोणबाट मनोसामाजिक विमर्शको अवधारणा र मनोसामाजिक विमर्शलाई समुदायस्तरमा संस्थागत गर्न संस्थाले गरेको प्रयासहरुका बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमलाई समापन गर्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष, तरङ्गिनी फाउन्डेसनका कार्यकारी अध्यक्ष तथा ओरेकका  संस्थापक अध्यक्ष डा रेणु अधिकारीले हानिकारक परम्परागत अभ्यासमा आधारित विभेदपूर्ण सामाजिक मूल्य मान्यताका कारण महिलाहरुमा मनोसामाजिक समस्या जटिल रुपमा बढ्दै गइरहेको बताउँदै यसको समाधानका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि, अतिथि, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, तालिमका सहभागी र सञ्चारकर्मी सहित गरी ७५ जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा तालिम प्राप्त गर्नुभएका २४ जना मनोविर्मशकर्तालाई अतिथिहरुबाट प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।
ओरेकले सन् १९९७ मा उदयपुर र सल्यान जिल्लामा विभिन्न स्थानमा महिला स्वास्थ्य स्रोत तथा मनोपरामर्श केन्द्रहरुको स्थापना गरि मनोपरामर्श ÷ परामर्श सेवा प्रदान गर्न शुरु गरेको हो भने हाल पनि संस्थाले महिला स्वास्थ्य परामर्श केन्द्र, महिला मनोसामाजिक परामर्श केन्द, सामुदायीक क्लिनीकहरु गरी ५१ वटा स्थानहरुबाट तालिमप्राप्त दक्ष मनोविमर्शकर्ताहरु मार्फत प्रत्यक्ष रुपमा मनोसामाजिक मनोविमर्श सेवा प्रदान गरिरहेको छ भने समुदायमा १०० भन्दा बढी परामर्शकर्ताहरु मार्फत परामर्श सेवा समेत प्रदान गरिरहेको छ ।