भवन निर्माण नगरी दोस्रो किस्ता

सिन्धुपाल्चोक जिल्लामा पुनर्निर्माण कार्यक्रममा तीव्रतासँगै भूकम्प लाभग्राहीले भवन निर्माण नगरी दोस्रो किस्ता लिएको खुलासा हुन आएको छ । जिल्लाको इन्द्रावती गाउँपालिका सिपापोखरे र बलेफी गाउँपालिकामा भवन निर्माण नै नगरी दोस्रो किस्ता लिएको सरोकारवालाहरुले बताएका छन् । 






राष्ट्रिय पुनर्निर्माण कार्यक्रम जिल्ला आयोजना कार्यान्वयन इकाईद्वारा होटल अरनिकोमा गरिएको पुनर्निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरसरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
स्थानीय तहमा रहेका वडा अध्यक्ष तथा केही जनप्रतिनिधिहरुले गैर सरकारी संस्थाले पुनर्निर्माणमा गर्न लागेको निर्माणको कार्यक्रमका विनियोजित बजेटहरु समेत  जनप्रतिनिधिले नै खर्च गर्न पाउने गरी बजेट वडामा माग गर्ने गरेको गुनासो समेत गरेका थिए । जिल्लामा कार्यरत रहेका गैर सरकारी संस्थाहरुले आ–आफ्नो संस्थाबाट गरिँदै आएको पुनर्निर्माणको बारेमा भएका कार्यक्रमबारे जानकारी गराउँदै पुनर्निर्माण प्राधिकरणको नीति निर्देशन अनुसार काम गरेको भएतापनि केही स्थानीय तहमा अझैपनि समस्या रहेको बताएका थिए ।
सहभागिहरुले बजारमा एक्कसी सिमेन्ट, रडको भाउ बढ्नु, ढुवानीमा समस्या हुनु मुख्य समस्या रहेको बताउँदै आगामी दिनमा स्थानीय विकासको लागि अझ प्रभावकारीताका साथ अगाडि बढ्न स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने  बताइएको छ ।
विषेशगरी पुनर्निर्माणमा काम गरिरहेका जिल्लामा रहेका सक्रिय गैरसरकारी संस्थाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ रहनुभएको थियो भने सम्बन्धित कार्यालयका प्रतिनिधि, गैरसरकारी महासंघका अध्यक्ष तथा जिल्लामा रहेका टुकी संघका ज्ञानेन्द्रप्रसाद पौडेल, सिडिइसिएफका गोविन्द सापकोटा, श्वेता श्री फाउण्डेशनका यज्ञराज कार्की, कारितास नेपालका झग्गु चौधरी, ओरेकका सिता थापा, केयर नेपालका जीवन केसी, जनहित ग्रामीण सेवा समितिका श्रीधर न्यौपाने लगायत जिल्ला प्रहरी कार्यालयका डिएसपी विमलराज कँडेल, जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, शहरी भवन डिभिजन कार्यालयका टंकप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । 

,