चोरीको मोटरसाइकलसहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विषेश निगरानीका कारण जिल्लामा प्रायः चोरीका मोटरसाइकलहरु पक्राउ भइरहेका छन् । विषेशगरी मेलम्ची क्षेत्रमा यस्ता मोटरसाइकलहरु पक्राउ पर्ने गरेका छन् ।
हिजोमात्रै मेलम्ची ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकल सहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
जाँचगर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । काठमाडौँको चावहिलबाट हराएको सो मोटरसाइकल धनी रामेछाप जिल्ला टेकनपुर घर भएका धनबहादुर थापामगर भएको ट्राफिक प्रहरी प्रल्हाद दाहालले जानकारी दिनुभयो ।