शिक्षक हितको लागि बचत कोष

जुगल गाउँपालिका वडा नं. ३ भित्र रहेका करार शिक्षकहरुको लागि वचत कोषको व्यवस्था गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ ले करार शिक्षकहरुको हितको लागि भन्दै बचत कोषको व्यवस्थापन गरेको हो ।
वडा शिक्षा समितिको आयोजनामा मंगलबार भएको बैठकले वडा भित्रका सातै वडा विद्यालयमा कार्यरत करार शिक्षकहरुको लागि कोषको स्थापना गर्ने निर्णय गरेको हो । बैठकले वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवस्यक रणनीति अपनाउने निर्णय समेत गरेको छ । रणनीति अनुरुप शैक्षिक स्तर सुधार गर्ने विद्यालयलाई नमुना विद्यालय घोषणा गरी वर्षैपिच्छे पुरस्कृत गरिँदै जाने निर्णय समेत गरिएको वडा अध्यक्ष सानुकान्छा तामाङले बताउनुभयो ।
यसैगरी वडा भित्रका अनाथ बालबालिकाको उच्च तहसम्म निःशुल्क पठनपाठनका लागि वडाले व्यस्वस्था गरिरहेको जुगल गाउपालिकाका शिक्षा समिति संयोजक सनत अधिकारीले बताउनुभयो । उहाँले समान शिक्षा प्रदान गने उद्देश्यका साथ दरवन्दी मिलान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा वडा भित्रका विद्यालय व्यवस्थापन समिति,  प्रधानध्यापक, समितिका पदाधिकारी लगाएतको उपस्थिति थियो ।