नपामा नयाँ प्रविधिको विकास हुँदै वडा नं. १२


 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले नयाँ–नयाँ प्रविधिको माध्यमबाट विकासका कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ ।




वडाअध्यक्ष ध्रुबराज गिरीको पहलमा बोरिङ्ग गरिएको खानेपानीको विकास गरेर सम्भवत नगरकै पहिलो बोरिङ्ग खानेपानीको व्यवस्थापनमा वडालाई पहिचान दिलाउन सफल हुनुभएपछि  स्थानीय श्रोत र साधन परिचालन गरेर स्थानीयलाई रोजगारको अवसर जुटाउने प्रयास स्वरुप इन्टरलक इँटा उद्योग सञ्चालनको व्यवस्था गर्नुभएको छ ।
नगर प्रमुख अमानसिं तामाङसहितको टोलीले उक्त उद्योगको निरिक्षण समेत गरेको छ । निरिक्षणको त्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तामाङले वनजंगलमा रहने चराहरुको जस्तो गरेर मानिसले उद्योग सञ्चालन गर्नुभन्दा नगर्नु नै उचित हुने बताउनुभएको छ ।
उहाँले जिल्ला लघु उद्यमी संघको सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ को स्वाँराथोकमा सञ्चालन भएको इन्टरलक इँटाको कारखाना निरिक्षण गर्ने क्रममा त्यस्तो बताउनुभएको हो ।
मानिसले उद्योग सञ्चालन गरेपछि त्यसको निरन्तरता दिनुपर्ने बताउँदै साँगाचोकगढीको आफ्नै इतिहास भएको र यस उद्योगले झन् साँगाचोकलाई ऐतिहासिक बनाउन मद्दत गरेको बताउनुभयो । उहाँले नगरपालिकाबाट गर्नसक्ने सहयोग उपलब्ध गराउने बताउँदै नगर भित्र  स्थानीय श्रोत र साधनको सदुपयोग गरी स्थपना गरिएको उद्योगहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
नगरको सम्पत्ती भनेकै आम नागरिकको हो । त्यसैले आम नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारका लागि सहयोग पुग्ने काम भएकोले उद्योग सञ्चालनका लागि आवश्यक भोल्टेजको बिजुलीको ट्रन्सफर्म उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्यालले नगरपालिकाले स्थानीय श्रोत साधनको प्रयोग गरेर स्थानीयलाई रोजगारको श्रृजना गर्ने  उद्योगहरुलाई पहिलो प्रथमिकताका साथ सहयोग गरिरहेको र यसलाई पनि नगरपालिकाको  तर्फबाट हुने गर्न सकिने सहयोग गर्ने बताउँदै पहिले खानेपानी, बाटोको विकास गरेर उद्योग सञ्चालन गर्न सके मात्र उद्योगले स्थायित्व पाउने भएकाले त्यसतर्फ सञ्चालकहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले इन्टरलक इँटाले बनेका घर भूकम्परहित हुनुका साथै जाडो समयमा अरु सामग्री प्रयोग गरेर बनेको घर जस्तो चिसो र गर्मीमा तातो नहुने भएकाले यो उत्तम प्रविधि भएको बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक विभागका प्रमुख तथा वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठले आर्थिक विकासका लागि यस्ता उद्योगहरुले नगरपालिकाको विकासमा सहयोग पुग्ने बताउँदै उत्पादनले बजारीकरणमा समेत सहज पुग्ने बताउनुभयो ।
वडा नं. १२ का वडाध्यक्ष ध्रुवराज गिरीले वडा कार्यालयबाट स्थानीयलाई रोजगार दिने जुनसुकै उद्योगलाई पनि श्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने बताउनुभयो । चौतारा साँगाचोकगढी नपा साँगाचोक लघुउद्यमी संघका अध्यक्ष कल्पना तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला लघु उद्यमी संघका अध्यक्ष सानुमाया गुरुङ, प्रशिक्षक समुन्द्र तामाङ, स्थानीय गणेशबहादुर पुरी, कुलबहादुर पुरी लगाएतले मन्तव्य राख्नुभएको थियो भने सरिता बिकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका सल्लाहकार चन्द्रप्रसाद सापकोटा, नगरपालिका सचिवालयका मिलन लामा, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेत लगाएतले इन्टरलक इँटा कारखना लगायत खानेपानी तथा सडकका कामहरुको निरिक्षण गर्नुभएको थियो ।

, , , ,