महाबिद्यालय का लागी चौतार क्यामपस


 सिन्धुपाल्चोक जिल्लाकै जेठो विद्यालयको रुपमा परिचित चौतारा बहुमुखी क्याम्पसलाई महाविद्यालयको रुपमा विकास गर्न पहल सुरु भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष पूर्व माननीय कृष्णराज श्रेष्ठको अध्यक्षतामा चौतारा क्याम्पसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले बैठकमा आफ्नो धारणा राख्दै समन्वय समितिबाट महाविद्यालय स्वीकृतका लागि गर्नुपर्ने पहलमा कुनैपनि कञ्जुस्याइँ नगरी सबै प्रकारको सहयोग गर्ने बताउँदै जिल्लाकै पहिचानको लागि महाविद्यालय स्वीकृत लिएर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नगरको पहिचानको लागि महाविद्यालय सञ्चालन गर्नुपर्ने त्यसका लागि नगरपालिकाबाट गर्नुपर्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष पूर्व माननीय कृष्णराज श्रेष्ठले विद्यालयसँग महाविद्यालय सञ्चालन गर्न प्रशस्त पूर्वाधारहरु रहेको, जग्गा प्रशस्त रहेको, भवन, प्राविधिक कक्ष सबै प्रकारका भौतिक सुविधा भएकाले महाविद्यालय सञ्चालन गर्न उपयुक्त रहेको बताउनुभएपछि सबै निकायका प्रतिनिधिहरुले महाविद्यालय सञ्चालन गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।
बैठकमा क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले क्याम्पसका विगतका गतिविधि र महाविद्यालय सञ्चालन गर्न सकिने पूर्वाधार भएकोले आगामी शैक्षिक सत्रदेखि नै महाविद्यालय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति सचिवालय प्रमुख श्री कृष्णप्रसाद ढकाल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठ, ७ का अध्यक्ष उमाप्रसाद दुलाल, १३ का रामप्रसाद गौतम, शिक्षाविद्हरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सरकारले प्रत्येक प्रदेशमा यसै वर्षदेखि कम्तीमा एउटा महाविद्यालयको व्यवस्था गर्ने निर्णय गरेपछि प्रदेश नं. ३ को लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित चौतारा बहुमुखी क्याम्पसलाई महाविद्यालयको रुपमा सञ्चालन गर्न स्विकृती लिने निर्णय गरेको हो ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.