शिक्षा मन्त्री पोखरेल र जापानी राजदूत साईगाबीच भेटवार्ता



शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पोखरेलले राजदूत मासामिचि साईगाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो  । मन्त्री पोखरेलले नेपालको समग्र विकासमा जापानी सहयोगमा अझै बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभएको छ  । उहाँले नेपाल र जापानबीचको पारस्पारिक सम्बन्धको सात दशकदेखि हुँदै आएको विषय पनि उल्लेख गर्नुभएको थियो  । 
मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा जापानले प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जसका कारण नेपालको विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आभार प्रकट गर्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, जापान सरकारको सहयोग नेपालमा २०७२ मा आएको विनासकारी भूकम्पपछिको तत्कालको राहत, पुनर्स्थापन र क्षतिग्रस्त विद्यालय भवनहरुको पूननिर्माण विशेष उल्लेखनीय छ ।
त्यसैगरी नेपालमा जापान सरकारको सहयोगमा संचालित परियोजनाहरु मार्फत विद्यालय शिक्षा र विज्ञान तथा प्रविधिको  क्षेत्रमा  हुँदै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । आगामी दिनमा यो सहयोग कायम रहने विश्वास पनि व्यक्त गर्न भयो । उहाँले शिक्षण अस्पताल महाराजगन्जको स्थापनामा र  गत वर्ष उपलब्ध गराइएको अत्याधुनिक स्वास्थ्य उपकरणहरुको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रमा पनि जापानको महत्वपूर्ण भूमिका रहेको कुरा स्मरण गराउनुभयो ।
जापानको सहयोगमा सञ्चालित सन २००९–२०१५ विद्यालय क्षेत्र सुधार कार्यक्रमको कार्यान्वयन को अवधिमा जापान सरकारको सहयोग उल्लेखनीय रहेको एवं हाल संचालनमा रहेको विद्यालय क्षेत्र विकास योजनाका लागि जापान सरकार बाट प्राप्त हुने १५ मिलियन यूएस डलर पनि नेपालको विद्यालय शिक्षाको विकासका लागि उल्लेखनीय हुने बताउनुभयो ।
मन्त्रि पोखरेलले भूकम्प पछिको विद्यालय पुननिर्माणकालागि जापान सरकारबाट प्राप्त १०० मिलियन अमेरिकी डलर विशेष उल्लेखनीय  रहेको बताउनुभयो  । भूकम्प प्रभावित ६ जिल्लाका २८३ विद्यालयहरुका पूर्ण भौतिक संरचना जापान सरकारको सहयोगमा निर्माण भइरहेको पनि बताउनुभयो   । करीव १०० विद्यालय भवनहरु निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्ष संचालन गरेको विद्यार्थी भर्ना अभियान नेपालको शिक्षाको इतिहासमा महत्वपूर्ण पहलको रुपमा लिइएको पनि छलफलका क्रममा मन्त्री पोखरेलले बताउनुभयो ।  जसको फलस्वरुप हालसम्म विद्यालय बाहिर रहेका लगभग ०.३ मिलियन बालबालिका विद्यालय भर्ना भएको बताउनुभयो  ।
नेपालको विद्यालय शिक्षा देखि उच्च शिक्षा सम्म सुधार गर्ने अभिप्रायले राष्ट्रिय शिक्षा आयोगको गठन गरिएको र  जसको माध्यमबाट नेपालको शिक्षाको सुधारको मार्गचित्र कोरिनेमा विश्वस्त रहेको मन्त्री पोखरेलले बताउनुभयो ।
भेटका क्रममा जापानी राजदूत  मासामिचि साईगाले नेपालको शिक्षा क्षेत्रको विकासमा जापान सरकारको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले जापान र नेपालबीचको लामो दौत्य सम्बन्ध आपसी सम्बन्धका साथ अगाडि बढ्ने बताउनुभयो । जापानी राजदूतले विद्यालय क्षेत्र विकास योजना र विद्यालय क्षेत्र सुधार कार्यक्रममा जापानी सरकारको सहयोग निरन्तर रहनेमा विश्वास दिलाउनुभयो ।


, , ,