दिपशिखाद्वारा शारदालाई पुस्तक


नेत्रबहादुर बस्नेत-
बाह्रबिसे/सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ स्थित श्री शारदा मावि बाह्रबिसेलाई करिव ९ लाख भन्दा बढीका पुस्तकहरु  उपलब्ध भएको छ । सो विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका सुपुत्री दिपशिखा बस्नेतले उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

 शारदा माविका विद्यार्थी, शिक्षकहरुको व्यापक उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै दिपशिखा बस्नेतले आफूलाई यो किताव संकलन गर्न धेरै समस्या परेको तर जति समस्या परेपनि यसलाई सफल बनाउने प्रेरणाका साथ अगाडि बढ्दै जाँदा यति धेरै पुस्तक संकलन गर्न सफलता प्राप्त भएको बताउनुभयो ।

उहाँले राजधानी तथा सुविधासम्पन्न शहरमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि आवश्यकता अनुसार पुस्तक अध्ययन गर्न नपाउने अवस्थामा शारदा माविका शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई उपयुक्त हुने सोच अनुसारको पुस्तक संकलन गरेर विद्यालयमा हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 
कार्यक्रममा दिपविजय बस्नेतले पुस्तकलाई लाइव्रेरीमा राख्नका लागि दराज निर्माण गर्न लाग्ने आवश्यक नगद रकम समेत हस्तान्तरण गर्नुभएको थियो । उहाँले शारदा माविलाई पुस्तक सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
शारदा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण श्रेष्ठले विद्यालयको शिक्षा सिकाईको लागि बस्नेत परिवारले गरेको सहयोगको जति प्रशंसा गरेपनि नपुग्ने बताउँदै शिक्षा विकासको लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

विद्यालयका पूर्व प्रअ यमबहादुर बस्नेतले शारदा माविबाट अध्ययन गरेर गएका पूर्व विद्यार्थीहरु धेरै माथिल्लो तहमा पुगिसकेका छन् ।
यो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि यस्ता सहयोगी हातहरुको धेरै आवश्यकता रहेको बताउनुभयो । 
विद्यालयका प्रअ तोया नेपालले शारदा माविका विद्यार्थी एवम् अभिभावक मात्रै होइन, जिल्लाभरी नै प्रतिष्ठित व्यक्तिहरुको लागि आवश्यक पर्ने अति मूल्यवान तथा उपयोगी पुस्तक ल्याइ पुस्तकालयमा राख्नका लागि दराजको समेत व्यवस्था गरेकोमा दिपशिखा बस्नेत तथा दिपविजय बस्नेतलाई धन्यवाद दिनुहुँदै विद्यालयमा सबैखाले सहयोग गर्नेहरुको खाँचो रहेको बताउँदै विद्यालयमा राम्रो नम्बर ल्याएर स्तरीय शिक्षा हासिल गर्न सफल छात्रा कृतिका बस्नेतको आर्थिक स्थिति कमजोर भएको कारण अध्यननमा समस्या रहेको बताउनुभयो ।
त्यस लगत्तै पूर्व सञ्चारमन्त्री बस्नेतका धर्मपत्नि समाजसेवी मन्दावी राणा बस्नेतले तत्काल रु २१ हजार नगद विद्यालयलाई प्रदान गर्नुभयो ।


विद्यालयका शिक्षक घनश्याम नेपालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिकाका उपप्रमुख लक्ष्मी पौडेल लगायतको वडाका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमीको उपस्थिति रहेको थियो ।

, , , , , , ,