वातावरण संरक्षण मञ्चद्धारा लागि १० विद्यालयमा ४ सय १ बिरुवा वितरण ।


देबराज सुबेदी मेलम्ची सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनसँगै माटो संरक्षण र हरियाली प्रवद्र्धनको काम समेत सुरु गरेको छ । विद्यालयमा करेसाबारी वा बगैंचा सहितको वातावरणमैत्री प्रविधि बिस्तार र अभ्यासको लागि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका १० वटा विद्यालयमा बिरुवा उपलब्ध गराएको छ । विद्यालयमा माटो संरक्षण, हरियाली प्रवद्र्धनसहित विद्यार्थीलाई वातावरणमैत्री प्रविधि सिकाउने उद्धेश्यले धुपी, तेजपात, कपुर, समी लगायतका ४ सय १ वटा बिरुवा उपलब्ध गराईएको कार्यक्रम अधिकृत विनोद शर्माले जानकारी दिनुभयो । नगरपालिकाका ७ वटा र हेलम्बु गाउँपालिकाका ३ वटा विद्यालयमा धुपी १ सय ३५, तेजपात १ सय ३२ र कपुर १ सय ३४ बोट उपलब्ध गराइएको उहाँको भनाइ छ ।
कारितास स्विट्जरल्याण्डको आर्थिक सहयोगमा सञ्चालन भैरहेको भूकम्प प्रभावित विद्यालय पुनस्र्थापना परियोजना अन्तर्गत ब्लु स्कुल कार्यान्वयन भैरहेका ७ सहित १० वटा विद्यालयमा ४ सय १ बिरुवा उपलब्ध गराइएको हो । मेलम्ची नगरपालिकाका तेर्से माध्यामिक विद्यालय, बतासे माध्यामिक विद्यालय, बालसुधार माध्यामिक विद्यालय, जलवाइदेवी माध्यामिक विद्यालय, ज्योति भञ्ज्याङ आधारभुत विद्यालय, पञ्चकन्या आधारभुत विद्यालय र जागेश्वरी आधारभुत विद्यालयमा २ सय ४४ वटा बिरुवा उपलब्ध गराइएको बरिष्ठ सामाजिक परिचालक नवराज सापकोटाले बताउनुभयो । ७ विद्यालयलाई कपुर ८४, धुपी ८०, तेजपात ८० बोट उपलब्ध गराइएको उहाँको भनाइ छ ।
त्यस्तै हेलम्बु गाउँपालिका अन्तर्गतका गोल्मादेवी माध्यामिक विद्यालय, जयबागेश्वरी माध्यामिक विद्यालय र पाल्चोक माध्यामिक विद्यालय गरी ३ वटा विद्यालयमा १ सय ५७ वटा बिरुवा उपलब्ध गराइएको सापकोटाले बताउनुभयो । कपुर ५०, धुपी ५५ र तेजपात ५२ गरी जम्मा १ सय ५७ वटा बिरुवा उपलब्ध गराइएको र विद्यालयले केहि दिनभित्रै वृक्षारोपण गरिसक्ने उहाँको भनाइ छ ।

,