ओरेकको मासिक प्रतिवेदन सार्वजनिकः १ सय ८१ महिलामाथि हिंसा, ४५ प्रतिशत हिंसा घरभित्रै

महिलामाथि हुने हिंसाहरु दिनप्रतिदिन विभिन्न स्वरुपमा बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले महिला माथि भएको हिंसाको मासिक प्रतिवेदन मार्फत उक्त कुरा सार्वजनिक गरेको हो ।
ओरेकको अनुसार महिलामाथि हुने हिंसा, तिनका आयाम र परिमाणहरू फरक फरक रहेका छन् । व्यक्तिगत तहदेखि नीतिगत तहसम्म रहेको विभेदपूर्ण एवम् हानिकारक परम्परागत सोँच र धारणा नै महिलामाथि हुने हिंसाको मुख्य कारण हो  । त्यसकारण महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर्न र न्यायिक प्रक्रियालाई तत्काल अघि बढाई हिंसामुक्त जीवन जीउने वातावरण सिर्जना गर्न, महिला अधिकार सम्बन्धी बनेका विभेदपूर्ण कानुन परिमार्जन तथा कार्यान्वयनको लागि राज्यको ध्यानाकर्षण गराउन ओरेकले मासिक रुपमा महिला हिंसाका घटनाहरुको विश्लेषणत्मक प्रतिवेदन सञ्चार माध्यम मार्फत सार्वजनिक गर्दै आएको छ । 
ओरेकले असार महिनामा मात्रै जम्मा १८१ महिला हिंसाका घटनाहरु दर्ता भएका छन् जसमध्ये ५६ वटा घटनाहरु विभिन्न दैनिक राष्ट्रिय पत्रपत्रिकाहरुबाट संकलन गरिएको छ ।
असारमा सबैभन्दा बढी ४५ प्रतिशत (८२) महिलाहरु घरेलुहिंसाबाट प्रभावित भएको देखिएको छ, भने त्यसपछि १७ प्रतिशत (३०) महिला तथा किशोरीहरुमाथि बलात्कार भएको देखिन्छ । यसैगरी १५ प्रतिशत (२८) सामाजिक हिंसा, ८ प्रतिशत (१४) हत्या, ४  प्रतिशत (८) बलात्कारको प्रयास, ३ प्रतिशत (६) आत्महत्या २ प्रतिशत (३) बेचविखनको प्रयास, २ प्रतिशत (३) यौन दूव्र्यवहार, २ प्रतिशत (४) हत्या प्रयास, र २ प्रतिशत (३) महिलामाथि अन्य (ठगी, अपहरण) प्रकारका भएका हिंसाका तथ्याँकहरु संकलन भएका छन् । हिंसा प्रभावितहरु मध्ये सबैभन्दा बढी ३७ प्रतिशत श्रीमानबाट, २० प्रतिशत परिवारका सदस्य, १९ प्रतिशत छिमेकी, ६ प्रतिशत महिलाले आत्मीय ठानेका साथी, ४ प्रतिशत साथी, ३ प्रतिशत शिक्षक र ११ प्रतिशत कुनैपनि सम्बन्ध नभएका व्यक्तिहरुबाट महिलाहरुमाथि हिंसा भएको ओरेकले जनाएको छ ।
हिंसा प्रभावित महिलाहरुमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समुहका ३३ प्रतिशत महिलाहरु प्रभावित भएको पाइएको छ भने यस्तैगरी, २६ देखि ३५ वर्ष उमेर समुहका २५ प्रतिशत महिलाहरु, १६ बर्षभन्दा मुनीका २४ प्रतिशत, ७–७ प्रतिशत ३६ देखि ४५ बर्ष उमेर समूहका र ४५ बर्षभन्दा माथिका महिलाहरु र ४ प्रतिशत उमेर समूह नखुलेका महिलाहरुमाथि हिंसा भएको पाइएको छ ।
यसरी जुनसुकै स्वरुपमा भएपनि महिलामाथि हुने हिंसाको कारण महिलाले स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । सदियाँैदेखि अस्तित्वमा रहेको पित्तृसत्तात्मक मूल्य मान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासहरुका कारण महिलाको आफ्नो पहिचान, श्रम र शरीरमाथि आफ्नो नियन्त्रण हुने स्थिती हालसम्म पनि सिर्जना नभएको कारण महिलामाथि हुने हिंसामा न्यूनीकरण हुन सकेको छैन ।
त्यसैले महिलामाथि हुने हिंसा अन्त्यका लागि विभेदपूर्ण सामाजिक, साँस्कृतिक मूल्य मान्यताबाट निर्देशित हानिकारक परम्परागत अभ्यासको अन्त्य गरी संरचनागत परिवर्तन आवश्यक रहेको र यसका लागि समुदायदेखि नै सामाजिक तथा साँस्कृतिक रुपान्तरणको वातावरण तयार भइ देशमा भएको राजनीतिक रुपान्तरण बलियो रुपमा संस्थागत हुनु जरुरी रहेको ओरेकका कार्यक्रम निर्देशक अभिराम रायले बताउनुभएको छ ।

,