कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो ।
राजीनामा दिँदै उहाँले आफूले मन्त्रालय सम्हालेपछि कानून मन्त्रालयले धेरै ओटा कानुन निर्माणका कामलाई तीव्र गतिमा बढेको बताउनुभयो । ठूला आयोजना निर्माणलाई अघि बढाउन सक्ने गरी फास्ट ट्रयाक कानुन बनाउन लागेको छ ।
आफू र आफ्नो जीवन संगीनी उषाकला राईले महिला हकहित र हिंसाविरुद्धका काममा सक्रिय हुँदा हुँदै पनि आफूलाई विरोधीहरुले खेदेको उहाँले बताउनुभयो ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका हाम्रा केही चेलीहरु शोषणमा परेको कुरा मैले बोलेकै हो । तर, मैले बोलेको सम्पूर्ण अंश काटेर बद्नाम गर्ने काम गरेका छन् । यो विषयमा ठूलै विवाद भइसकेपछि मैले पदबाट राजीनामा दिने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– म मेरो राजनीतिक निष्ठा, इमान्दारीता र राष्ट्र निर्माण गर्ने मेरो पार्टीको अभियानलाई कमजोर बनाउन र धमिलो पानीमा माछा मार्ने नियतले सिंगो सरकारलाई असफल पार्ने दिवा सपना सफल हुन नदिन र सरकारको कदममा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्छु ।
आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताउनुभयो । सरकारलाई असफल बनाउन र निहित स्वार्थ बोकेकाहरुलाई परास्त पार्न र आफू पद भन्दा प्रतिष्ठाको लागि काम गर्ने व्यक्ति भएकोले पनि आफूले राजीनामा दिएको उहाँले बताउनुभयो ।
मन्त्री तामाङद्वारा राजीनामाको घोषणा
[email protected] Powered by Blogger.
