जलविद्युतमा जिल्लालाई आकर्षक रोयल्टी

देवराज सुवेदी/गत आर्थिक वर्ष २०७४/७५ मा संकलन भएको मध्येबाट जलविद्युतमा सिन्धुपाल्चोकले आकर्षक रोयल्टी प्राप्त गरेको छ ६४ करोड ५९ लाख ९५ हजार रुपैयाँ रोयल्टी संकलन भएको मध्ये सिन्धुपाल्चोकले आकर्षक रोयल्टी पाएको हो ।
देशभरका ६६ जिल्लाले पाएको रोयल्टी सबैभन्दा बढी गोरखा जिल्लाले प्राप्त गरेको छ । सरकार तथा निजी क्षेत्रबाट निर्माण भई विद्युत उत्पादन गरिरहेका जलविद्युत आयोजनाबाट उठेको रोयल्टी सरकारले प्रभावित जिल्लामा वितरण गरेको हो ।

सम्बन्धित साविक जिल्ला विकास समितिलाई वितरण गरिएको रोयल्टी आर्थिक वर्ष २०७३÷७४ को तुलनामा ५ करोड ८ लाख ११ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक बर्षमा ५९ करोड ५१ लाख ८४ हजार रुपैयाँ रोयल्टी वितरण गरिएको थियो ।
सिन्धुपाल्चोकसँगै आकर्षक रोयल्टी पाउनेमा लमजुङ, मकवानपुर, नुवाकोट र तनहुँ जिल्ला छन् । ओखलढुुङ्गा, सिराहा, सप्तरी, ताप्लेजुुङ, पाँचथर, झापा, तेह्रथुम, भोजपुुर, धनकुटा, उदयपुर, मोरङ, सोलुखुम्बु र खोटाङ जिल्लाले सबैभन्दा कम रोयल्टी प्राप्त गरेका हुन् ।
प्रत्येक वर्ष जलविद्युत उत्पादन गर्ने आयोजनाको संख्या थपिने भएकाले रोयल्टी रकम पनि बढ्दै गएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिएका छन् । सरकारलाई अहिले ७५ जलविद्युत आयोजनाले रोयल्टी तिर्दै आएका छन् भने १३ जलविद्युत आयोजनाले रोयल्टी तिर्न बाँकी रहेको बताइएको छ ।