मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या
मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ ।
केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशीको चाप बढी हुने भएकाले उनीहरुको सुविधालाई ध्यानमा राख्दै कामपाले यस्तो व्यवस्था गरेको हो । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान कामपाले गरेको थियो ।
हनुमानढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएको भन्दा धेरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने अवस्था आएको काफ्लेले जानकारी दिनुभयो । आवश्यकता हेरी अन्य स्थानमा पनि इण्टरनेट राख्ने योजना कामपाको छ । ती नागरिकले इण्टरनेट सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।