कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी माग्नुभएको छ । हिजो एक विज्ञप्ति जारी गर्दै उनले सञ्चारमाध्यमममा प्रकाशित भएको समाचारको खण्डन गर्नुभएको छ ।
राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको बताउनुभएको थियो ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘बंगलादेशमा अध्यनरत छात्राहरुले भोग्नु परेका केही समस्यलाई मैले उजागर गरेको हो । नेपाली छात्राले त्यहाँ रहँदा नै आत्महत्या गरेको र हिंसाको उजुरीका रुपमा समेत रहेका छन् । नेपाली विद्यार्थीले विदेशमा पढ्नुको विकल्पमा नेपालमा नै सो विषयमा अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीले त्यस्ता समस्या भोग्ने अवस्थाको अन्त्य हून्छ भन्ने मेरो आशय हो । मेरो उक्त दिनको भनाईले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्किएका छात्राहरुलाई पर्न गएको चोट प्रति क्षमा माग्न चाहन्छु । नारी अश्मिताको रक्षामा मेरो सदैव प्रतिवद्धता र क्रियाशिलता रहिरहनेमा सबैलाई विश्वास दिलाउन चाहान्छु ।’ यसैबीच मन्त्री तामाङको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले मर्माहत बनाएको भन्दै कांग्रेसले यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
‘स्वयं प्रधानमन्त्रीबाट वेलावेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ?’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी प्रश्न गर्नुभएको छ । विज्ञप्तिमा अघि लेखिएको छ, ‘छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं ।’
यसैवीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो अभिव्यक्तिवापत कानूनमन्त्री तामाङले राजीनामा दिनुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभएको छ, ‘म कानूनमन्त्रीको राजीनामा माग्छु । अब पार्टीमा यसबारे कुरा उठ्छ ।’
प्रवक्ता श्रेष्ठले हिजै ट्वीट गरेर मन्त्रीको अभिव्यक्तिप्रति सार्वजनिक रुपमै सरकारको ध्यानाकर्षण गराइसक्नुभएको छ । सरकारकै प्रवक्ताले मन्त्रीको राजीनामा माग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बंगलादेश पढ्न जाने छात्राहरुबारे दिएको अभिव्यक्ति गलतः मन्त्री तामाङद्वारा विज्ञप्ती जारी
[email protected] Powered by Blogger.
