दोश्रो पाँचपोखरी हाफ म्याराथन हुने


देबराज सुबेदी
जिल्लाको मुख्य धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरीमा पर्यटन प्रबद्र्धनका लागि खेलकुद भन्ने मुख्य नारा सहित दोश्रो पाँचपोखरी हाफ म्याराथन आयोजना हुने भएको छ ।
लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध तीर्थस्थल पाँचपोखरीबाट रैथाने मन्दिरसम्मको करिब २४ किलोमिटर गोरेटो बाटोमा भदौ १० गते पाँचपोखरी हाफम्याराथन आयोजना गरिने आयोजक पाँचपोखरी थाङपाल गाउंपालिकाले जानकारी दिएको छ ।
प्रतियोगितामा जुनसुकै भाषा, धर्म संस्कृतिका समुदाय तथा व्यक्तिले सहभागिता जनाउन सकिने छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको पाँचपोखरी इन्द्रावती नदीको मुहान समेत रहेको छ । पाँचपोखरीमा सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्ड गरी पाँचवटा छुट्टाछुट्टै पोखरी रहेका छन् ।
प्रतियोगितामा पुरुष र महिला तर्फको दुबै बिधामा पहिलो हुनेले पचास हजार, दोश्रोले ३० हजार र तेश्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि इच्छुक खेलाडिहरुको लागि बिभिन्न स्थानमा फर्म उपलब्ध गराईएको छ । पाँचपोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र लेक लाग्न सक्ने भएको हुँदा प्रतियोगितामा सहभागि हुने पर्यटक, खेलाडि हरुले बिशेष सजगता अपनाउन समेत आयोजकले आग्रह गरेको छ ।
गत वर्ष भएको पहिलो पाँचपोखरी हाफ म्याराथनमा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ निरकला राइले उपाधि जित्नुभएको थियो ।


,