जुरे पहिरोको ४ वर्षः फेरिएन पीडितको अवस्था

कृपा श्रेष्ठः जिल्लाको जुरेमा पहिरो गएको हिजोबाट ४ वर्ष पूरा भएको छ । पहिरो गएको ४ वर्ष पूरा हुँदासमेत पहिरो पीडितको अवस्था फेरिन सकेको छैन ।
पहिरो पीडितको नाममा संकलन भएको रकम जिल्ला दैविक प्रकोप उद्धार समितिको खातामा जम्मा भएर बसेको छ । पीडितको लागि एकिकृत बस्ती निर्माण हुने निर्णय ४३ महिनापछि भएपनि अझै बस्ती निर्माणको काम सुरुवात गरिएको छैन । जुरे पीडितको सहभागितामा भएको छलफलबाट पहिरो पीडितलाई एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने निर्णय भएको थियो । पहिरो पीडितको नाममा २ करोड २४ लाख रुपैंया सहयोग हातबाट प्राप्त भएको थियो । सो रकम अहिलेसम्म पनि जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा छ । पीडितहरु अहिले पनि अन्यत्र गएर बस्न बाध्य छन् ।
०७१ सालको साउन १७ गते मध्यरातमा इटनीको भीर खस्दा पहिरोले पुरिएर १ सय ४५ जनाले ज्यान गुमाएका थिए । आफन्त र आवास गुमाएका १ सय २२ परिवारले भूकम्पपीडित सरहको अनुदान पाएका छन् । जुरे पहिरोमा सर्वस्व गुमाएका पीडितले ३ वर्षपछि भूकम्पपीडितसरहको अनुदान पाए पनि घर बनाउन सकेका छैनन् । पहिरोमा के कति क्षति भएको थियो भन्ने यकिन विवरण नै हुन सकेको थिएन । पहिरोले भोटेकोसी नदीलाई २४ घन्टा पूरै थुनेर राखेको थियो ।
जमेको ताल एक्कासि फुटेको भए के कति क्षति हुन्थ्यो त्यो कल्पनासमेत गर्न सक्ने अवस्था थिएन । ताल विस्तारै फुटेर नदीको धारमा रुपान्तरण भएपछि जमेको तालबाट ठुलो क्षति हुन पाएन ।


,