प्रेस काउन्सिलको नतिजा प्रकाशन, प्रेस युनियनद्वारा विरोध

नेपालभर प्रकाशित हुने पत्रपत्रिकाहरुको स्थलगत निरिक्षण गर्नुको साथै पत्रपत्रिकाहरु कसरी प्रकाशन भइरहेका छन् भन्ने विषयमा अनुगमन गरी मूल्याङ्कन गर्ने जिम्मा पाएको प्रेस काउन्सिल नेपालले एकैपटक दुई वर्षको नतिजा प्रकाशन गरेको छ ।
प्रकाशित नतिजा अनुसार सिन्धुपाल्चोकबाट प्रकाशित भइरहेको एकमात्र दैनिक पत्रिका लोकप्रिय समाचार दैनिक राष्ट्रिय दैनिकमै कायम रहेको छ भने सिन्धुप्रवाह साप्ताहिक क्षेत्रीय र अरु सबै स्थानीयमा वर्गिकृत भएका छन् । 

प्रेस काउन्सिल नेपालको अनुसार  आ.व. २०७२/७३ र २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको हो । सूचना विभागको मिडिया डायरी अनुसार २०७३ चैत मसान्तसम्म ७ हजार ४ सय ६३ वटा पत्रिका दर्ता रहेकोमा  ९ सय १३ वटाले वर्गिकरणको लागि आवेदन पेश गरेका थिए ।
जस अनुसार आ.व. २०७२/०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यस्तै आ.व. २०७३/७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको प्रेस काउन्सिलले जनाएको छ । वर्गिकरणमा आवेदन दिएर पनि हुबहु भनिएको र पत्रपत्रिकालाई अनुकूलताको आधारमा वर्गिकरण गरेको भनि समाचार प्रकाशनहरुले प्रेस काउन्सिलको वर्गिकरण नतिजाप्रति विरोध जनाएका छन् ।
प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका बर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ– प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाले नेपाल प्रेस युनियनलाई गम्भिर बनाएको छ । देशभरबाट यो नतिजालाई लिएर पत्रकार साथीहरुको गम्भिर असहमति समेत प्रकट भएको छ । नतिजा निकाल्ने क्रममा राजनितिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपाबाद हावी भएको गुनासो समेत पत्रकार बृतबाट आएको छ । नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई बर्गिकरणमा घटुवा गरि सोही ठाँउमा कहिलेकाँहि प्रकासित हुने पत्रपत्रिकालाई बढुवा गरिएका गुनासा आएका छन् ।
पत्रपत्रिका बितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन आक्रोशित तुल्याएको छ । काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।
पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ । अन्यथा काउन्सील नेतृत्वको कोपभाजनमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मी साथीहरुका साथमा देशभरका पत्रकार साथीहरुलाई लिएर युनियन आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ  विज्ञप्तीमा भनिएको छ ।
प्रेस काउन्सिल नेपालले वर्गिकरण गरेको नतिजामा अध्यक्ष निकट पत्रपत्रिकाहरुलाई क+ मा राखिएको र नियमित प्रकाशन भएका पत्रपत्रिकाहरुलाई तल्लो दर्जामा राखेर नतिजा प्रकाशन गरेको र केही पत्रपत्रिकाहरुलाई हुबहुको  नाममा वर्गिकरणमा समावेश नगरेको प्रकाशन गृहहरुले बताएका छन् । साना लगानीका पत्रपत्रिकाहरुलाई यो नतिजाले निरुत्साहित गरेको देखिएको छ ।   
प्रेस काउन्सिलले यही साउन २४ गते २ वर्षकै नतिजा एकैपटक सार्वजनिक गरेको थियो ।

,