नेत्रबहादुर बस्नेत/कुनैपनि नागरिकले कानुनको उल्लंघन गर्न नहुने त्यसरी उल्लंघन गर्नेलाई कार्वाहि गरी प्रहरीले नागरिकलाई सुरक्षा र सुनुवाईको अनुभूति दिलाउने आफ्नो पहिलो प्रतिवद्धता रहेको प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुखको पदभार ग्रहण गरेपछि जिल्ला स्थित सञ्चारकर्मीहरु बीच परिचयात्मक कार्यक्रममा आफ्नो भनाई राख्दै उपरीक्षक मरासिनीले उक्त कुरा बताउनुभएको हो ।
समग्रमा जिल्ला प्रहरी कार्यालयको प्रमुखको कुर्सी भनेको न्यायको रुख भएको र आफू उक्त रुखको संरक्षकको भूमिकामा रहेको बताउँदै रुखको पात झार्ने, जरा उखेल्ने काम गर्दा कानुनको रुखको अस्तित्व समाप्त हुने भएकोले उक्त अस्तित्व जोगाई राख्नका लागि आफूले आफ्नो बुताले भ्याएसम्म प्रयत्न गर्ने बताउनुहँुँदै जिल्लामा कुनै प्रकारका कानुन विपरित काम गर्नेलाई छुटकारा नदिने बताउनुभयो ।
उहाँले जिल्लामा आफ्नो मातहतको कार्यालयमा कार्यरत निकायहरुलाई न्याय सम्पादन तथा शान्ति सुरक्षाको विषयमा कुनैपनि दवाव नपारी प्रहरी नियम, देशको संविधान, ऐन तथा स्थानीय सरकारका निर्देशिका बमोजिम काम गर्न निर्देशन दिएको बताउनुभएको छ ।
उहाँले सबै नागरिकले विधिको शासन पालना गर्नुपर्ने, विधीको शासन, ऐन, कानुन, नियम भन्दा बाहिर रहेर कसैले पनि काम गर्न नहुने बताउँदै ऐन, कानुनलाई हातमा लिएर अनियमित कार्य गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याएर कार्वाहि गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आफूले पहिलो काम भनेकै अनियमितता हुन नदिने, कानुन विपरित काम हुने नदिने र लुकिछिपि कसैले गरेको पाइएमा त्यसको नियन्त्रण गरेर नागरिकलाई प्रहरीको कार्यालयमा आउँदा आफ्ना समस्या समाधान हुन्छ भन्ने कुराको प्रभाव पार्ने खालको काम गर्ने बताउनुभयो ।
परिचय तथा छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लामा शान्ति सुरक्षामा मजबुत बनाउनु र नागरिकलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सिर्जना गर्न प्रहरी लागिपर्नुपर्ने, खोलानालामा, सडकमा हुने गुण्डागर्दी र अनियमितता तुरुन्तै रोक्नुपर्ने जस्ता सुझाव राखेका थिए ।
यसैबीच कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले पनि मरासिनीलाई एक समारोहका बीच स्वागत गरेको छ । कर्मचारी मिलन केन्द्रमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मरासिनीले आफ्नो पदीय मर्यादा भित्र रहेर प्रहरी प्रशासनको तर्फबाट दिनुपर्ने सेवामा कुनैपनि कमी कमजोरी हुन नदिने बताउनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मरासिनी जस्तो कुशल र अनुभवी नेतृत्व रहेकोले जिल्लाको सुरक्षामा खासै चिन्ता गर्नुपर्ने अवस्था नदेखिएतापनि जिल्लाको सुरक्षा तथा जिल्लाका नागरिकलाई पु¥याउनुपर्ने सहयोगको विषयमा जिल्ला प्रहरी कार्यालयले खेल्ने भूमिकामा आपूm लगायत जिल्ला स्थित सबै कार्यालयहरुबाट सहयोग रहने बताउनुभयो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले कर्मचारी मिलन केन्द्रले प्रहरी प्रशासन लगायत सबै निकायहरुबाट गरिने हरेक कानुनी क्रियाकलापलाई सहयोग गरिरहने बताउनुभयो ।