चौतारा नगरपालिकामा रहेको बाल उद्यानको अवस्था नाजुक स्थीतिमा

किरण थापा/जिल्लाकै पहिलो चौतारा नगरपालिकामा रहेको बाल उद्यानको अवस्था नाजुक स्थीतिमा पुगेको छ ।
टुडिखेल नजिकै रहेको बाल उद्यानमा घामपानिले रङ खुईलिएको साईनबोर्ड, भत्किएको गेट, च्यातिएका तारजालि, र २÷४ वटा लडिरहेका बेन्चहरु लथालिङ्ग अवस्थामा रहेको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
‘उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो,’ उद्घाटनपछि उहाँले भन्नुभएको थियो । चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याउने कामले सुस्तता छाएको छ ।
झण्डै तिन बर्ष अगाडी टुँडिखेल नजिक चौताराको टुडिखेलमा ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालन गरीएको थियो । नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको थियो । तर हाल ति सबै संरचनाहरु लथालिङ्ग छ । कुनै पनि संरचनाहरु हाल प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छन् ।
नगरमा रहेको बाल उद्यानलाई जिल्लाकै नमूना बनाउने बताएपनि चौतारा सांगाचोकगढि नगरपालिकाको त्यस तर्फ ध्यान पुग्न नसकेको हुँदा यस्तो अबस्थामा आएको  स्थानियले बताएका छन् भने यस सम्बन्धमा चौतारा साँगाचोकगढी नगरपालीकाले नगर भित्र रहेका यस्ता संरचनाहरु को संरक्षण कसरी गर्ने भन्ने बिषयमा बिशेष छलफल भइरहेको र यस्ता संरचनाहरुको तत्काल संरक्षण गर्ने योजना रहेको चौतारा साँगाचोकगढी नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद बस्यालले बताउनु भएको छ ।

,