जोखिममा सुनकोशीः सुरक्षित रहन अनुरोध गर्दै गाउँपालिकाद्वारा विज्ञप्ती जारी

अविरल बर्षाका कारण सुनकोशी गाँउपालिका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका साथसाथै सुनकोशी गाउँपालिकाको कालिकामा ४३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
त्यस्तै पुरानचोकका ८ , उखुबारीका  ६  घर पनि माथीबाट आएको पहिरोका कारण जोखिम परेको छ । भिरखर्कको खहरे खोलाले बगाएर ल्याएको पहिरोको लेदोले कालिकाका स्थानियका ११ रोपनि खेतको धान पुर्ण रुपमा नष्ट भएको छ । वर्षाको जोखिम बढेपछि कालिकाका स्थानिय पहिरोको सुरिक्षत ठाउँमा गएर बसिरहेका छन् ।

यसैबीच सबैलाई सुरक्षित रहन अनुरोध गर्दै सुनकोशी गाउँपालिका हिजो एक विज्ञप्ती जारी गरेको छ ।
गाउँपालिका प्रमुख श्रवणकुमार जिसी ‘विनोद’ द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘यहि मिति २०७५ साल साउन १९ गतेदेखि परेको अविरल वर्षाको कारणले गर्दा सुनकोशी गाउँपालिका भित्रका विभिन्न स्थानहरुमा बाढी पहिरो आई ठूलो मात्रामा चल तथा अचल सम्पत्तिहरु क्षति भएको हुँदा यस दुखद् घडीमा आम सुनकोशीवासी आमा÷बुबा तथा दाजुभाई दिदीबहिनीहरुलाई सुरक्षित स्थानमा बसी हुनसक्ने क्षतिबाट सचेत रहनुहुन अनुरोध गरिन्छ ।’
‘यस दुखद् घडीको समयमा धैर्यतापूर्वक सुरक्षित स्थानमा बसी विपद् व्यवस्थापनको लागि यस गाउँपालिकाको कार्यालयमा जानकारी दिई सहयोग गर्नुहुन अनुरोध गरिन्छ । साथै यस गाउँपालिकाबाट तत्काल राहतको कार्यक्रम समेत अगाडि बढाइएको व्यहोरा आम गाउँपालिकावासीमा अनुरोध गरिन्छ’ जारी विज्ञप्तीमा भनिएको छ ।