देशैभरी बलात्कारका घटना बढ्दो

दरबारमार्ग, ललितपुर र इटहरीमा भएको बलात्कारका घटना र जिम्मेवार निकायबाट नै पीडकलाई गरिएको संरक्षणका घटनाहरु पछि देशैभर बलात्कारका घटनाहरु सार्वजनिक हुने क्रम बढिरहेको छ ।
प्रभावित मैत्री न्याय प्रणाली नहुनु, कानुनको प्रभावकारी कार्यान्वयन तथा पीडकलाई कडा कारबाही नहुनुले बलात्कार र बलात्कार पछिको हत्याका घटनाहरु श्रृखलाबद्ध रुपमा घटिरहेको महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको साउन महिनाको महिला माथि भएको हिंसाको मासिक प्रतिवेदनमार्फत सो कुराको जानकारी दिएको हो । 
कञ्चनपुरकी निर्मला पन्त, कैलालीका माया बिक र कविता विष्टमाथि भएको बलात्कार र बलात्कार पछिभएका निर्मम हत्याका घटना, सोही प्रकृतिको काभ्रेकी ९ बर्षीय अबोध बालिकाको बलात्कार पछिको हत्या जस्ता केही घटनाहरु मात्र सार्वजनिक भएका छन्् ।
भदौमा पोखराकी १३ वर्षीय पुष्पा केसी विद्यालयबाट फर्कने क्रममा हत्या भएको छ जसलाई परिवार र स्थानियले बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । यी घटनाहरुलाई हेर्दा पनि वास्तविक पीडकको पहिचान गरी कारबाहीको दायरामा ल्याउन र प्रभावितलाई न्याय दिलाउन स्थानीय तहका प्रशासनिक निकायहरु जिम्मेवार नभइदिँदा हाम्रो समाजमाअहिले किशोरीहरु सुरक्षित महसुशगर्न सकिरहेका छैनन् ।
यस्ता घटनाहरुले हाम्रो समाजको कुरुप तस्वीर अगाडी सारेको छ र हरेक नेपालीलाई लज्जित बनाएको ओरेकका कार्यक्रम निर्देशक अभिराम रायले जानकारी दिनुभयो ।
तथापी यी घटनाहरु सञ्चार माध्यममा प्राथमिकता पाएका केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । हाम्रो समाजमा समाचार बन्न नसकेका यस्ता विभत्स तस्वीर कति छन् यसको यकिन गर्न गाह्रो छ । यसरी भएका जघन्य अपराधका घटनाहरुलाई पनि सरकारले गम्भीर रुपमा नलिँदा र बलात्कार पछि भएका घटनाहरुमा वास्तविक पीडकको पहिचान गरी दोषीलाई कारवाहीगर्न नसक्दाप्रभावितको न्यायप्राप्ती माविश्वास मर्दै गएको छ ।
कार्यक्रम निर्देशक रायका अनुसार गत आर्थिक बर्षमा बलात्कारका २८८ घटनाहरुमा १४ जनाको बलात्कार पछि हत्याभएको तथ्याँक ओरेकले अभिलेखिकरण गरेको छ । पछिल्लो समयमा हेर्दा अबोध बालिकाहरु बलात्कृत भएका छन् भने बलात्कार पछि हत्यागर्ने श्रृङ्खलापनि बढ्दो छ । संकलित तथ्याङ्कको आधारमापनि सबैभन्दा बढी १८ बर्ष भन्दा कम उमेरका १० जना र १८ बर्षभन्दा माथिका ४ जना बालिका तथा महिलाको बलात्कार पछि हत्या भएको पाइएको छ ।
०७५ श्रावण महिनामा मात्रै कुल १८० महिला माथि हिंसा भएको छ जसमध्ये ४३ जना किशोरी तथा महिलाहरु माथि बलात्कार जसमा २५ जना १८ बर्ष भन्दा कम उमेरका बालिका तथा किशोरीहरु रहेका रायले बताउनुभयो । उहाँका अनुसार ६ जना माथि बलात्कारको प्रयास भएको पाइएको छ । हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमान र ३४ प्रतिशत छिमेकीहरु र १२ प्रतिशत आफ्नै परिवारका सदस्यहरुबाट हिंसा भएको पाइएको छ । यसैगरी हिंसा प्रभावितहरु सबैभन्दा बढी १७ देखि २५ बर्ष उमेर समुहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समुहका २९ प्रतिशत र १६ बर्ष भन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिकाहरु हिंसाबाट प्रभावित भएको तथ्याँक संकलन भएको ओरेकले जनाएको छ ।
सभ्य समाजको कलंकको रुपमा रहेको बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु न्यूनिकरण हुनुको साटो झनै भयानक प्रकृतिका घटनाहरु घटिरहेका छन् । अर्काेतर्फ जिम्मेवार निकायहरुले वास्तविक पीडकलाई कारबाहीगर्न नसक्दा समाजमा त्रसिदीपूर्ण वातावरण सिर्जना भएको छ । हाल सडकदेखि सदनसम्ममा पीडकलाई आजीवन कारवासदेखि फाँसीसम्मको सजायँ हुनुपर्ने आवाजहरु उठिरहेका छन् । तर प्रभावितलाई न्याय दिलाउनका लागि पीडकलाई सजायँ मात्र दिँदैमा यस्ता समस्याहरुको समाधान हुन्छ र बलात्कार त एउटा परिणाम मात्र हो ।
हामीले त्यसका कारण खोजेमात्र दिर्घकालिन समाधान भेट्न सकिन्छ । मूलूकमा फौजदारी संहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुञ्जेल कैद हुने व्यवस्था रहेको छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । तर यसप्रकार घटना हुनै नदिन दिर्घकालिन उपायहरु अवलम्वन गर्नुपर्ने ओरेकको सुझाव छ ।