गति लिन सकेन मेलम्चीको कामले

देवराज सुवेदी/मेलम्चीको पानी काठमाडौँ ल्याउने कामले अझै गति लिन सकेको छैन । निर्माण कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीचको पछिल्लो सम्झौता अनुसार कामलाई तीव्रता दिएर असोज मसान्तसम्म अर्थात् दसैँ अगावै कम्तीमा सुन्दरीजलसम्म पानी ल्याउने भनिएको थियो तर निर्माण कम्पनीले कामको गतिलाई तीव्रता दिन सकेको छैन ।
गत असार ८ गतेको सहमति अनुसार निर्माण कम्पनीले विज्ञहरूको सङ्ख्या थप गर्ने, छवटा साइडबाट काम गर्र्ने, श्रमिकको सङ्ख्या थप गर्ने र थप औजारको व्यवस्थापन गरी कामलाई तीव्रता दिने भनिएको थियो । मेलम्ची खानेपानी विकास समितिका अनुसार कम्पनीले १०÷१२ जना विज्ञ थप गरेको छ, सबै साइडमा आवश्यक सामग्री उपलब्ध गराएको छ, थप औजार ल्याएको जानकारी पनि दिएको छ तर कामको गति भने बढेको छैन ।

सुरुङको ब्रेकथ्रु भएपछिको काम त्यसको फिनिसिङ गर्ने र बाँध बनाउने हो । साथै पानी प्रशोधन केन्द्रको निर्माण हो । हालसम्म जम्मा ८.२८ किमी सुरुङको भुई ढलान भएको छ । सुरुङको भित्ता र माथिल्लो भागमा सटक्रिट र रकबोल्ट गर्ने काम पनि ८३८ किमी भएको छ ।
समितिका अनुसार हाल दैनिक सरदरमा ४५ मिटरका दरले काम भएको छ । यही गतिमा काम गरे बाँकी रहेको अबको ५० दिनमा जम्मा २.३४ किमी सम्पन्न हुन्छ । जुन आधा काम पनि सम्पन्न हुन सक्दैन तर थप बन्दोबस्तीको व्यवस्था भएपछि अब कामको गतिले तीव्रता पाउने समितिको भनाइ छ ।
मेलम्ची खोलामा बाँध बाध्ने काम भर्खर सुरु भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सुन्दरी जल, थकनी र इचोकमा भन्टीलेसनको काम भएको छैन । महिनामा छ÷सात किमी ढलान गर्ने सहमति भए पनि काम भएको छैन् । जुलाई महिनामा ८४० मिटर मात्र काम भएको छ ।
समितिका अनुसार हाल सुन्दरीजलस्थित सुरुङको अन्तिम बिन्दुबाट प्रशोधन केन्द्रसम्म पानी लैजाने २५० मिटर पाइप जडानको काम भएको छ । खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, एसियाली विकास बैङ्क, परामर्शदाता इप्टिसा कम्पनी र निर्माण कम्पनीबीच छलफलपछि गएको असार ८ गते दसैँ अगावै राजधानीमा पानी उपलब्ध गराउने सहमति भएको थियो ।

,