अस्ताय अथक शिक्षा सेवी सुवेदी

बाँके: पर्वत जिल्लामा शिक्षाको लागि अथक योगदान गर्नुभएका शिक्षा सेवी उमेशचन्द्र सुवेदी शास्त्रीको ७५ वर्षको उमेरमा शुक्रवार देहावसान भएको छ ।

माता बसुन्धरा र पिता मनिराम सुवेदीका कान्छा सुपुत्रका रूपमा दुईहजार साल पुस २२ गते पर्वत जिल्लाको पैञ्यू गाऊँपालिका ३ अन्तर्गत पर्ने गोहपुक भन्ने गाऊँमा जन्मनुभएका स्व. सुवेदीले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट अध्ययन गरी फर्केर पर्वतको पैञ्यू क्षेत्रका साना ठूला विद्यालयहरू स्थापना र विकासमा विशेष योगदान गर्नु भएको थियो ।

सो क्षेत्र अन्तर्गत पर्ने श्री जनसेवा संस्कृत माध्यामिक विद्यालय हुवास हटिया, पालुस्थान मावि बेउलीबास, महेन्द्रोदय मावि भोक्सिङ्ग जस्ता विद्यालयहरु स्थापना गर्न योगदान गर्नु भएका सुवेदी पालुस्थान मावि बेउलीबासको प्रधानाध्यापक समेत रहनु भएको थियो । 

धर्म अध्यात्मका विद्वान स्व.शास्त्री बसाइसराइको क्रममा बर्दिया हुँदै बाँकेको कोहलपुरमा बस्दै आउनु भएका सुवेदी पछिल्लो समयमा दमरोगले थलिनु भएको थियो । कोहलपुरमा रहँदा पनि ज्ञानोदय मावि चपरगौढीमा शिक्षा सेवा पुर्याउनु भएका सुवेदी सृजना दुग्ध सहकारी, शितभण्डार सहकारी लगायत धेरै सामाजिक कार्यहरुमा संलग्न हुनुहुन्थ्यो ।

स्व. सुवेदीका एक श्रीमती चन्द्रकला, चार छोरा दीपक, यादव, बैकुण्ठ र प्रकाश, तीन छोरी राधा, दुर्गा र गंगा हुनुहुन्छ । चार छोरा मध्य जेठा छोरा चर्चित ज्योतिषी दीपक सुवेदी हुन् । दीपक सुवेदी विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति अन्तर्गत हिन्दु ॐकार भोलन्टियर्सका महासचिव समेत रहेका छन् । यसै गरी माइला छोरा यादव सुवेदी आयुर्वेदमा कार्यरत छन् । साइला बैकुण्ठ विदेश छन् भने कान्छा प्रकाश हालैमात्र विदेशबाट घर आएका छन् ।

शिक्षा एवं समाजसेवी स्व. उमेश चन्द्र सुवेदीको दाहसंस्कार भोली ९ गते देवघाटमा गरिने पारिवारिक श्रोतले बताएको छ ।