दूर्गन्धित बन्दै भैंसे बजार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थित भैंसे बजार दिनानुदिन प्रदूषित बन्दै गइरहेको छ ।
बजारमा व्यवसाय गर्दै आएका केही व्यापारीहरुले बजार तथा आसपासका वस्तीहरुमा बंगुर तथा कुखुराको खोर बनाएको कारण बजार दूर्गन्धित बन्दै गएको श्री पाँचकन्या प्रगतिशिल युवा क्लव भैंसेका अध्यक्ष श्याम माझीले बताउनुभयो ।
दूषित हावाको कारण हालसम्म ५ जना बच्चा तथा वृद्धहरु समेत विरामी परेको उहाँले बताउनुभयो ।
बजारमा व्यवसाय गर्दै आउनुभएका सानो होटल सञ्चालन निमा लामा दूषित हावाकै कारण होटल नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।
बजारमा कुखुरा तथा बंगुर पालन गर्दै आउनुभएका व्यापारीहरु प्रकाश जिसि, रेशमबहादुर श्रेष्ठ तथा गुमबहादुर माझीलाई स्थानीयले पटक पटक टाढा लगेर पाल्न आग्रह गर्दा पनि बेवास्ता गर्दै आएको तथा प्रशासनले पनि खासै चासो नदिएको स्थानीयको गुनासो रहेको क्लवका अध्यक्ष माझीले बताउनुभयो ।